काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त सो मन्दिरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपूर्ण पूर्णिमा नाच अवलोकन गर्न श्रीमती शाक्य र मन्त्री श्रेष्ठ खोकना पुगेका हुन् ।
सो अवसरमा मन्त्री श्रेष्ठले भूकम्पले क्षतिग्रस्त मन्दिर र अन्य सम्पदा पुनःनिर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने बताए। उनले भने, “रुद्रायणी मन्दिर क्षतिग्रस्त भएको विषय अत्यन्तै चिन्ताजनक छ, सरकारले यहाँको सम्पदा पुनर्निर्माण गर्न सरोकार निकायलाई तत्काल निर्देशन दिनेछौं ।” उनले सयौँ वर्ष पुरानो इतिहास बोकेको खोकनाको संस्कृति र परम्परा जोगाउन सरकारले सबै सहयोग गर्ने वचन पनि दिए।
मन्त्री श्रेष्ठले खोकना र बुङमतीको सम्पदामा कुनै समस्या नपर्ने गरी काठमाडौँ तराई–मधेश दु्रतमार्ग निर्माण गरिने बताए । प्रधानमन्त्रीपत्नी शाक्यले रुद्रायणी मन्दिर पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नु पर्ने बताइन् । उनले खोकनालाई कुनै असर नपर्ने गरी द्रुतमार्ग निर्माण हुने आश्वासन पनि दिइन् ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भूकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनर्निर्माण गरिने बताउँदै सातौँ शताब्दीदेखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने धारणा राखे । “यस क्षेत्रको तेल मिललाई बचाउनु पर्छ, इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामग्री प्रयोग गरी निर्माण गरेर संरक्षण गर्नुपर्छ ।” उनले सिमेन्ट प्रयोग गरेर भवन निर्माण गर्दा सम्पदा क्षेत्र संरक्षण हुन नसक्ने पनि स्पष्ट गरे ।
सो अवसरमा स्थानीयवासी नेपाल डङ्गोल लगायत द्रुतमार्गपीडितले प्रधानमन्त्री र मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले पनि रुद्रायणी लगायत खोकनाका सम्पदा पुनर्निर्माण गर्न श्रीमती शाक्य र मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए।
मन्दिर अवलोकन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारी, नेकपा पार्टी नेता एवं पूर्वसांसद सुशीला नेपाल, नेकपा जिल्ला अध्यक्ष हरिकृष्ण महर्जन, सचिव एवं प्रदेश सदस्य राजकाजी महर्जन, जीवन खड्का, ज्ञानेन्द्र शाक्य, पार्टी प्रचार प्रमुख स्वयम्भूराज डङ्गोल लगायतको सहभागिता थियो ।
सो अवसरमा उनीहरुले देवता खलकको नाच पनि अवलोकन गर्नाका साथै देवताहरुको पूजा गरेका थिए।