काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाएका छन् ।
महामारीको समयमा पनि संसद बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टीभित्रको सत्ता संघर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप उनले लगाए । नेपाल सांस्कृतिक संघका पदाधिकारीहरुसँको अन्तर्क्रियामा महतले पाँच महिना लामो लकडाउन र निषेधाज्ञा खुले पनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताए ।
उनले सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्याइरहेको समेत बताए । प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरु आवाज सरकारसम्म पुर्याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाए पनि सरकारले आफ्नो कुरा सहज रुपमा नसुनेको बताए । संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद बन्द गरी आफ्नो सुरक्षा कवचका रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाए ।
कांग्रेसको कोभिड-१९ अनुगमन समितिका संयोजक समेत रहेका महतसँग सांस्कृतिक संघका पदाधिकारीहरुले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका छन् ।