काठमाडौं ।
प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काविरुद्ध आक्षेप लगाउँदै पार्टीमा लिखित दस्तावेज पेश गरेपछि अब नेकपाको भविष्यमा प्रश्न उठेको छ । भोलि बस्ने सचिवालय बैठकबाट ओली र दाहालका दस्तावेज छलफलबाट सहमति खोज्ने दिशामा जान्छन् कि पार्टी फुटको औपचारिक दस्तावेज बन्छन् , नेकपाका नेता कार्यकर्ता पंक्तिमा चासो छ । ओली र दाहालका दस्तावेज यस्ता गम्भिर खालका छन् कि अब दुबै न त मिलेर जान सक्छन्, न त छुट्टिएर एक्ला एक्लै हिड्न ।
सँगै जाऔं एकले अर्कालाई लिखित रुपमा नै सत्तोसराप गरेका छन् । छुटिऔं तल्लो तहका कार्यकर्ता र नेताहरु मिलेर जानुपर्ने दबाबमा छन् । अहिले पार्टी फुट्दा दुबै कमजोर हुन्छन् । त्यसैले दबाब दिएका छन् । तर ओली दाहालबीच यस्ता बिषयमा आरोप प्रत्यारोप भएका छन् कि ती विवादमा मिलेर हिड्न सम्भव छ त ? एकले अर्कालाई लगाएका आरोप गम्भिर छन् ।
प्रधानमन्त्री ओलीले पेश गरेको ३८ पेजको प्रतिवेदनमा दाहालले राष्ट्रपति बनाउने बेलामा माधव नेपाललाई धोका दिएको, भरतपुर महानगरपालिकाको चुनावमा आफ्ना छोरीलाई जिताउन मतपत्र च्यात्न लगाएको, आफ्नो अघिल्लो सरकार ढाल्न भूमिका खेलेका कुरा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले पेश गरेको ३८ पेजको प्रतिवेदनमा दाहालले राष्ट्रपति बनाउने बेलामा माधव नेपाललाई धोका दिएको, भरतपुर महानगरपालिकाको चुनावमा आफ्ना छोरीलाई जिताउन मतपत्र च्यात्न लगाएको, आफ्नो अघिल्लो सरकार ढाल्न भूमिका खेलेका कुरा उल्लेख गरेका छन् । शान्ति प्रक्रियाका काम पूरा गर्न दाहालले नै अवरोध गरेको, परिवार नातागोताको संरक्षण गर्ने, घाइते योद्धाहरुप्रति कहिल्यै वास्ता नगरेको पनि ओलीको दस्तावेजमा छ । चुनावमा करिब १३ लाख भोट ल्याएको पार्टीलाई करिब बराबरी हैसियत दिएको भन्दै ओलीले चुनाव अघिको प्रसंग पनि खोतलेका छन् ।
प्रधानमन्त्रीले दाहाल र पहिलेका धेरे घटनाक्रमहरुमा खेलेका भूमिकाबारे प्रश्न उठाएका छन् । यस्तो प्रश्न पार्टी फुट्ने बेलामा एकले अर्कालाई लगाउने जस्ता छन् । कात्तिक २८ मा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको दस्तावेजमा बिषेशगरि ओली पार्टी, निर्णय र पद्धतिमा नहिडेको प्रसंग छ ।
प्रधानमन्त्री ओलीले पार्टी एकताको राजनीतिक–वैचारिक भावना, संगठन, सिद्धान्त र विधि–पद्धति तथा स्थायी कमिटीको पछिल्लो बैठकका निर्णयहरूमाथि प्रहार गरेको दाहालको दस्तावेजमा छ । ‘सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम तथा घोषणापत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवं जनमुखी काम आचरणहरूको उपेक्षा गर्दै अघि बढ्ने हो भने यो ऐतिहासिक अवसर हेर्दा हेर्दै गुम्न सक्ने खतरा र चुनौती हाम्रा अगाडि देखा पर्दै जान थालेको छ । यस्तो स्थिति क्षम्य हुन सक्ने छैन’ दाहालले भनेका छन् । दाहालले ओलीमाथि सत्ता प्रयोग गरेर पार्टी चलाउने खालको स्थिति खडा भएको पनि भनेका छन् । ‘पार्टी र सरकारका सम्बन्धमा आपसी तालमेल र समन्वयको ठूलो अभाव छ । यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’ दाहालले भनेका छन् ।
एकले अर्कालाई भ्रष्टाचार गरेको दलालको पक्षपोषण गरेको जस्ता आरोप पनि लगाएका छन् । यो स्थितमा भोलिबाट सुरु हुने सविचालयको अर्को चरणको बैठक कस्तो होला धेरैको चासो छ ।
कसका विकल्प के छन् ?
दुबै अध्यक्ष एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएपछि अब नेकपाका सामु कस्ता कस्ता विकल्प छन् ? को के चाहन्छ ? दुबै आ–आफ्नो समूहमा छलफल गरिरहेका छन् ।
ओली पक्ष दाहालको आरोपको जवाफ दिएपछि अब स्थिति केही मत्थर पार्ने र सकेसम्म दुबैका साझा दस्तावेज बनाउन खोज्दैछ । दुबैका आरोप प्रत्यारोपका दस्तावेजलाई थाती राखेर नयाँ खालको राजनीतिक प्रस्ताव बनाउने कोसिस छ ।
स्थायी समिति, केन्द्रीय समिति तर्फ नगई सचिवालयबाटै विवाद टुंगो लगाएर जाने कुरा ओली पक्षले गर्दै आएको छ । सहमतिका लागि ओलीले गत भदौ २६ गतेको सहमतिको विन्दुमा उभिनु पर्ने कुरा आफ्नो दस्तावेजमा लेखेका थिए । भदौ २६ मा पार्टीभित्र माथिदेखि तलसम्म मन्त्रिपरिषद् फेरबदल, राजनीतिक नियुक्ति लगायत सहमतिमा गर्ने भन्ने उल्लेख छ । त्यही सहमतिको पालना नहुँदा यसपटक विवाद चर्किएको थियो ।
ओलीले भनेको सहमतिको भदौ २६ को विन्दुलाई मानेर अब सहमति खोज्न दाहाल र माधव नेपाल तयार छैनन् । २६ गतेको भन्दा ठूलो नयाँ खालको सहमति खोज्नुपर्ने उनीहरुको भनाई छ ।
ओलीले भनेको सहमतिको भदौ २६ को विन्दुलाई मानेर अब सहमति खोज्न दाहाल र माधव नेपाल तयार छैनन् । २६ गतेको भन्दा ठूलो नयाँ खालको सहमति खोज्नुपर्ने उनीहरुको भनाई छ । पार्टी एकतापछि देखि नै समस्या आएको बिषयहरु भएकाले अब नयाँ ढंगबाट सहमति खोजेर जानुपर्ने दाहालको धारणा छ । नयाँ खालको सहमति हुँदा पार्टी एकतापछि भएका सहमतिहरु सबैलाई समीक्षा गरेर नयाँ सहमतिमा जानुपर्ने भन्ने छ । यसका लागि मुख्यतः ओलीले पद त्याग्नु पर्छ भन्ने दाहाल ठान्छन् । पद त्यागका लागि ओली तयार नभएको अवस्थामा दाहाल र माधव नेपाल अब के गर्छन् ? त्यसको खाका दाहाल नेपालले बनाइसकेका छैनन् । भोलीबाट सुरु हुने सचिवालय बैठकमा कस्तो खालको बहस हुन्छ त्यसका आधारमा नेकपा कुन बाटोतर्फ लाग्छ भन्ने तय हुन्छ ।