धमाधम भाडादर घटाउँदै एयरलाइन्स कम्पनीहरु

धमाधम भाडादर घटाउँदै एयरलाइन्स कम्पनीहरु


काठमाडौं ।
आन्तरिक वायु सेवा कम्पनीहरुले धमाधम हवाई भाडा घटाउन थालेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र आन्तरिक वायु सेवा संचालकहरुको बैंठकपछि वायु सेवा कम्पनीहरुले भाडा घटाउन थालेका हुन् । कोरोना भाइरसका कारण हवाईयात्रामा यात्रु घटेपछि भाडामा बृद्धि गरेका थिए । भाडा बढी भएपनि सर्वसाधारणको गुनासो बढे लगत्तै मन्त्रालयले हवाईसेवा संचालकहरुसँग छलफल गरी भाडा घटाएका हुन् ।

हवाई कम्पनी बुद्ध एयर, यति एयर, श्री एयर, सौर्य एयरले भरतपुर, पोखरा, विराटनगर, धनगढी, भैरहवा, नेपालगञ्ज लगायतका विभिन्न स्थानहरुको भाडादर घटाएका छन् । अब काट्ने टिकटमा आगामी दुई दिन उल्लेखित भाडादर लागू हुने कम्पनीले जनाएको छ । नयाँ भाडादर अनुसार भरतपुरका लागि ८ हजार ९६५ रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी, सरकारले तोकेको काठमाडौंदेखि विराटनगरसम्मको भाडा ७ हजार ४४० रुपैयाँ छ । तर, श्री एयरलाइन्सले अधिकतम ६ हजार १ सय रुपैयाँ भाडादर तोकेको छ ।

                                                                  बुद्ध एयरको भाडादर

त्यस्तै, जनकपुरको भाडा ४ हजार २४० रुपैयाँ छ । श्रीले अधिकतम ३ हजार ३ सय रुपैयाँ नयाँ भाडा तोकेको छ । सिमराको भाडा ३ हजार ८० रुपैयाँ तोकिएकोमा श्रीले ३ हजार रुपैयाँ भाडादर तोकेको छ । काठमाडौं पोखराको भाडा ४ हजार ९७५ रुपैयाँ सरकारी भाडा छ । श्रीले अधिकतम ३ हजार ७ रुपैयाँमा पोखराको भाडादर तोकेको छ । त्यसैगरी भैरहवाको सरकारी भाडा ६ हजार १०५ रुपैयाँ छ । श्रीले अधिकतम ४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । नेपालगन्ज र धनगढीको भाडा क्रमशः ९ हजार ८ सय ५० र १२ हजार ४ सय ५० रुपैयाँ रहेको छ । अधिकतम ६ हजार २ सय र ७ हजार ९ सयमा यात्रुलाई लैजाने श्रीले जनाएको छ । त्यसैगरी, बुद्ध एयरले पनि आइतबार हवाईभाडा घटाएको छ ।

Logo