थाइल्याण्डबाट फर्किएका व्यक्ति ‘सेल्फ क्वारेन्टाइन’ मा

थाइल्याण्डबाट फर्किएका व्यक्ति ‘सेल्फ क्वारेन्टाइन’ मा


भद्रपुर ।
व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आइतबारदेखि घरमै क्वारेन्टाइनमा बसेका छन् । विश्वव्यापी रुपमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिइरहेको अवस्थामा उनी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

उनलाई निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै प्राविधिक सहयोग पु¥याएको छ । भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय ती व्यक्ति शनिबार काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै घर फर्किएका थिए । उनले घरमा पुगे लगत्तै नगरपालिकाको विपद् व्यवस्थापन समितिमा सम्पर्क गरेर आफूले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न चाहेको बताएका थिए । आइतबार जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाई र विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोली उनको घरमा पुगेको थियो । उनकोे स्वास्थ्य सामान्य रहेको बताउँदै अधिकृत चौलागाईँले भने –‘सचेत व्यक्ति हुनुहुँदोरहेछ, आफैँ सम्पर्क गरेर सेल्फ क्वारेन्टाइनमा बस्छु भन्नुभयो र हामीले उहाँकै घरको एक कोठामा आवश्यक सामान जुटाएर सेल्फ क्वारेन्टाइनमा राख्यौँ ।’

उनी २० दिनअघि व्यक्तिगत कामले थाइल्याण्ड गएका थिए । उनलाई समितिले तयार गरेको वडा नं ८ मा रहेको कलबलगुढी क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि आफैँ घरमा बस्ने इच्छा व्यक्त गरेपछि घरमै बस्ने वातावरण तयार गरिएको अधिकृत चौलागाईँले बताए । उनको नियमित स्वास्थ्य परीक्षण गरिने अधिकृत चौलागाईँको भनाइ छ ।—रासस

Logo