पशुपतिमा विशेष पूजा बन्द हुने

पशुपतिमा विशेष पूजा बन्द हुने


काठमाडौं ।
कोरोना (कोभिड १९ ) भाइरसको जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा बन्द गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहिबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नहुने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

कोषले भक्तजनसँग पूजाका लागि तोकिएको शुल्क लिएर विशेष रुद्राभिषेक गर्ने व्यस्था गरेको थियो । विशेष पूजाका लागि धेरै भक्तजनको रुचि पनि बढ्दै गएको थियो । कोषका लागि आम्दानीको स्रोत पनि बनेको विशेष पूजा भाइरस संक्रमणको सतर्कताका लागि २५ जना भन्दा बढी उपस्थित हुन नपाउने नियमका कारण स्थगित गरिएको हो । यसले पशुपतिको नित्य पूजामा कुनै प्रभाव नपर्ने उनको भनाइ छ । पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति आउने सबै भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाएर आउन पनि कोषले आह्वान गरेको छ ।

पशुपति मूल मन्दिरभित्र दर्शनका लागि छिर्ने भक्तजनलाई पश्चिम ढोका अघि साबुन, पानी, स्यानिटाइजर लगायत सुरक्षाका उपाय पनि अललम्बन गरिएकाे छ । यसैगरी पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ । चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि हाललाई स्थगित गरिएको छ । पशुपतिमा हुने गंगा आरतीमा शनिबारदेखि २५ जनाभन्दा कम मानिसमात्र सहभागी हुनेछन् । कोरनाको त्रास कम भएपछि हाल स्थगित गरिएका विशेष पूजा लगायत यज्ञ यागादि पनि गरिने जनाइएको छ ।–रासस

Logo