नेपालमा विदेशीलाई पदयात्रा बन्द

नेपालमा विदेशीलाई पदयात्रा बन्द


काठमडौं ।
नोवेल कोरोना (कोभिड–१९) भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले शुक्रबार सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड वितरण बन्द गरिएको जनाएको छ ।योसँगै अब विदेशीले पदयात्रामा जान नपाउने भएका छन् । बोर्डले शुक्रबारबाट लागू हुने गरी टिम्स वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको हो ।

नेपालको पदयात्रामा जाने विदेशीले टिम्स अनिवार्य लिनुपर्छ । टिम्सबापत विदेशीले व्यक्तिगतरुपमा दुई हजार र संस्थागत गएमा एक हजार तिर्नुपर्छ । पर्यटनको महत्वपूर्ण आम्दानीका रुपमा टिम्स रकमलाई लिइन्छ । वसन्त ऋतु पदयात्राका लागि उपयुक्त याम भएकाले धेरै आरोही पदयात्राका लागि नेपाल आउने गरेका थिए । कोभिडको विश्वव्यापी संक्रमण फैलिएपछि सम्बन्धित मुलुकले अन्य मुलुकका नागरिक प्रवेशमा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान पनि कटौती भएको र विदेशीको आवतजावत पनि कम भएको हो ।

बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) ले टिम्स कार्ड वितरण गर्दै आएका छन । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाको संक्रमण कम नभएसम्म टिम्स कार्ड वितरण बन्द गर्ने सरोकारवाला निकायबीच सहमति भएको जानकारी दिए । बोर्ड, टान र टान पोखरा कार्यालयले टिम्स वितरण गर्दै आएका छन । यो याममा टानले दैनिक २ सय, बोर्डले १ सय ५० र पोखरा कार्यालयले ५० भन्दा बढी टिम्स वितरण गर्ने गरेको टानले जनाएको छ ।—रासस

Logo