कोरोनाबाट मृत्यु हुने मध्ये चीनमा भन्दा बढी इटालीमा

कोरोनाबाट मृत्यु हुने मध्ये चीनमा भन्दा बढी इटालीमा


जेनेभा।

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म १० हजार ४१ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चीनमा भन्दा धेरै इटालीमा रहेका छन् । चीनमा ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने इटालीमा मृत्यु हुनेको संख्या ३ हजार ४०५ पुगेको छ । यस्तै इरानमा १ हजार २८४ जनाको मृत्यु भएको छ । इटालीमा ४१ हजार ३५ जना र इरानमा १८ हजार ४०७ जनामा यसको संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विहिबार सार्वजनिक गरेकोे विवरण अनुसार संसारभरी २ लाख ४२ हजार ७२६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २५ हजार ४४८ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोनाको सङ्क्रमण हालसम्म १७९ वटा देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । चीनमा भने बिहीबार देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ मूलभूमिमा जनवरी यता ८१ हजार १७२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी चीनमा ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ५८ हजार ३८६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्।

कोरोना भाइरसका कारण विश्वभरि सडक र सार्वजनिक स्थल रित्तिएका छन् । यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटनाहरू देखा परेका तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् सो भने प्रष्ट भइसकेको छैन ।

पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ । श्रीलङ्कामा ५१ वटा, अफगानिस्तानमा २२ वटा, बाङ्ग्लादेशमा १४ वटा, माल्दिभ्समा १३ वटा घटना देखिए पनि भुटानमा सङक्रमण हालसम्म देखा परेको छ । रासस/एएफपी

Logo