‘तत्काल क्यासलेस कारोबार गर्न सकिन्न’-राष्ट्र बैंक

‘तत्काल क्यासलेस कारोबार गर्न सकिन्न’-राष्ट्र बैंक


काठमाडौं ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कागजी नोटको प्रयोगबाट पनि सर्न सक्ने विश्व स्वास्थ्य संगठनले बताएपछि आम जनता त्रसित बनेका छन् ।

‘हाम्रो मुलुकमा अधिकांश कारोबार नगदमा नै हुने गर्दछ’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट भन्छन्, “डिजिटल कार्डको प्रयोग गर्ने ग्राहकको संख्या कम छ । त्यसकारण तत्काल क्यासलेस कारोबार गर्न समस्या पर्छ ।” तत्काल क्यासलेस कारोबार गराउन नसकिने उनले बताए ।

तत्काल राष्ट्र बैंकले यस विषयमा केही व्यवस्था गरिसकेको छैन । तर डिजिटल बैंकिङलाई अझै व्यवस्थित बनाउने तयारीमा राष्ट्र बैंक छ । कागजी नोटबाट कारोबार गर्दा कोरोनाको संक्रमण सर्ने विषयमा जनचेतना फैलाए पनि हाम्रो अधिकांश कारोबारको हिस्सा कागजी नोटबाट हुने भएकाले तत्काल क्यासलेस कारोबार गर्न नसकिने प्रवक्ता भट्टले स्पष्ट पारे ।

तर कागजी नोटको प्रयोगको सीमा भने घटाउन सकिने उनले बताए । अहिले बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ लगायत डिजिटल बैंकिङ कारोबारको विस्तार गरिरहेका छन् । तीनै पूर्वाधारलाई व्यवस्थित रुपमा प्रयोग गरेर कारोबार गर्न प्रवक्ता भट्टले आग्रह गरेका छन् ।

Logo