एसइई रोकिँदा दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस

एसइई रोकिँदा दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस


सुर्खेत ।
मुलुकभर बिहिबारबाट हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगनले दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस भएको छ । परीक्षा दिन भनेर लत्ताकपडा, खाना खर्चसहित केही पैसा जोहो गरेका उनीहरु बुधबार आ–आफ्ना परीक्षा केन्द्रमा पुगिसकेका थिए ।
परीक्षा स्थगित भएको कुरा सम्बन्धित केन्द्रका केन्द्राध्यक्ष र स्थानीय तहका सरकार प्रमुखलाई थाहा भए पनि सबै परीक्षार्थीमा त्यो खबर पुगिसकेको थिएन । स्थगनको खबर नपाएका परीक्षार्थी आज बिहान परीक्षा केन्द्रमा पुगेका जुम्ला कालिका मावि तलिकुडु परीक्षा केन्द्रका केन्द्राध्यक्ष मानबहादुर सिंहले जानकारी दिए । ‘आज बिहान ७ः०० बजे परीक्षार्थी परीक्षा केन्द्रमा पुगेका थिए’– केन्द्राध्यक्ष सिंहले भने–‘परीक्षा स्थगित भइसकेको छ, घर फिर्ता भइहाल भन्दा उनीहरुले पत्याएनन्, प्रमुख जिल्ला अधिकारीले पठाएको परीक्षा स्थगितको सन्देश र अखबारमा आएका समाचार देखाएपछि मात्र उनीहरुले विश्वास माने ।’

खाना खर्च, लत्ताकपडा बोकेर आएका उनीहरुलाई हिउँ छिचोलेर घर कसरी फर्कने भन्ने कुराले पिरोलेको उनले बताए । स्थगन परीक्षाको मारमा विकट हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु र कालिकोट परीक्षार्थी परेका छन् । कर्णालीका १० जिल्लाका १ सय ७६ परीक्षा केन्द्र सबैमा फोन सम्पर्क हुन सकेको छैन् । यद्यपि प्रहरी प्रशासनको संयन्त्रहरुबाट सबै परीक्षा केन्द्रमा फोन, सन्देश र सुरक्षाकर्मीको सेटबाट खबर पठाइसकिएको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक दीपा हमालले जानकारी दिइन् । ‘आज बिहान कर्णाली प्रदेशका केही परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीलाई सम्झाइबुझाई पठाउने काम भएको छ’– उनले भनिन्–‘केन्द्रबाट विज्ञप्ति जारी भइसकेको र गृह मन्त्रालयले निर्देशन दिइसकेकाले अब सम्भवतः उनीहरुलाई द्विविधा नहोला ।’ उनका अनुसार परीक्षा केन्द्रमा पुगेका परीक्षार्थी घरतर्फ फर्कदैछन् ।

खासगरी हिउँको बाटो पन्छाउँदै एक दिन लगाएर परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीलाई घर फर्कन पिरलो भएको नेपाल पत्रकार महासंघ जुम्ला शाखा अध्यक्ष बरमबहादुर महतले बताए । यसबाट आर्थिक अवस्था कमजोर भएका र घरदेखि घण्टौँ लगाएर पैदल हुँदै परीक्षा दिने परीक्षार्थीलाई दोब्बर भार भएको उनको भनाइ छ । उनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिने जोखिमबाट सबैलाई होशियारी अपनाउन सरकारले गरेको निर्णय उपयुक्त भएको भन्दै प्रशंसा समेत गरे ।

सरस्वती मावि कुडारी जुम्ला केन्द्रका परीक्षार्थी उषा शाहीले स्थगन परीक्षाले अलपत्र पारेजस्तो महसुस भए पनि स्थगनको कारण आफुहरुकै लागि रहेछ भन्ने बुझेको बताइन् । उनका अनुसार धेरै टाढाबाट परीक्षा दिन आएका विकट गाउँका परीक्षार्थीलाई आउन र जान निकै दुःख भएको छ । यस वर्षको एसइई परीक्षामा कर्णाली प्रदेशबाट जम्मा ३६ हजार २ सय ९९ परीक्षार्थी सहभागी हुँदै थिए । –रासस

Logo