कोरोना सजगताका लागि कारागारमा भेटघाट बन्द

कोरोना सजगताका लागि कारागारमा भेटघाट बन्द


पोखरा ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै कास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ । कोरोना संक्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका प्रमुख गणेश गौतमले जानकारी दिए । उनका अनुसार आवश्यकताअनुसार कानुन व्यवसायीका साथै कुनै अत्यावश्यकीय भोटघाट भने हुनेछ । ‘कोरोना संक्रमण आइहाल्यो भने के गर्ने भन्नेबारे पूर्वतयारी गर्नका लागि पनि केही दिनका लागि भेटघाट बन्द गर्न लागेका हौ’ –गौतमले भने–‘पूर्वसजगताकै लागि कारागारभित्र माक्स उत्पादन गर्न शुरु गरिएको छ ।’

अहिले कारागारभित्रै दैनिक एक सय देखि एक सय ५० सम्म माक्स उत्पादन भइरहेको र कैदीबन्दीलाई प्रतिमाक्स ३० रुपैयाँमा उपलब्ध गराइएको छ । तयारीस्वरुप नै कारागारभित्र प्रत्येक ब्लकमा २० जनासम्म रहन सक्नेगरी ‘आइसोलेशन’ कक्ष निर्माण गर्न लागिएको उनको भनाइ छ ।

कूल दुई सय ४० जनाको क्षमता रहेको कास्की कारागारमा हाल आठ सय ७० जना कैदीबन्दी रहेको प्रशासनले जनाएको छ । गण्डकी प्रदेश सरकारले कारोनाको सम्भाव्य जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका औपचारिक कार्यक्रम, भेला महोत्सव नगर्न र बेलैमा सचेत हुन आम सर्वसाधारणलाई आग्रह समेत गरी सकेकाे छ । –रासस

Logo