एसइई परीक्षामा अनिवार्य स्वास्थ्य परिक्षण गर्न शिक्षक संघको माग

एसइई परीक्षामा अनिवार्य स्वास्थ्य परिक्षण गर्न शिक्षक संघको माग


काठमाडौं ।
एसइई परीक्षामा सबै परीक्षा केन्द्रमा अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गराउन नेपाल शिक्षक महासंघले माग गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँने क्रम नरोकिएको भन्दै महासंघले सो माग गरेको हो ।

महासंघका अध्यक्ष बाबुराम थापाले ‘कोभिड–१९’ लाई सामना गर्दै परीक्षा सञ्चालन गर्न माग गरेको जानकारी दिए । महासंघको सोमबार सम्पन्न राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले परीक्षालाई सतर्कतापूर्वक सञ्चालन गर्न सघाउने निर्णयसहित स्वास्थ्य परिक्षण अनिवार्य गराउन माग गरेको अध्यक्ष थापाले जानकारी दिए ।

ललितपुरको रुद्रायणी मावि, खोकना परीक्षा केन्द्रका केन्द्राध्यक्षसमेत रहेका अध्यक्ष थापाले परीक्षाका क्रममा विद्यार्थीलाई कुनै हतोत्साहित नगरी मर्यादित बनाइने पनि स्पष्ट पारे । उनले परीक्षापछि पढाइ नहुने भएपनि कोरोनाका कारण विद्यालयमा शिक्षकलाई विदा दिनुनपर्ने र यस अवधिमा शिक्षकले आगामी शैक्षिक सत्रको योजना तर्जुमा गर्न सुझाव समेत दिए ।

यही चैत्र ६ गतेबाट देशैभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा साधारण र प्राविधिकतर्फ गरी चार लाख ८२ हजार २ विद्यार्थी सहभागी हुँदैछन् । त्यस्तै एसइईलाई लक्षित गर्दै एक हजार नौ सय ९४ परीक्षा केन्द्र तोकिएको छ ।–रासस

Logo