प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेश सभा विघटनका पक्षमा नभएको बताएका छन् ।
आज आयोजित पत्रकार भेटघाटमा उनले मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावको सामना गरिने दृढता व्यक्त गरे ।
आगामी माघ ७ गते प्रदेश सभा बैठक बोलाइसकिएकाे जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेश सभा विघटन गरी प्रदेशका संरचनालाई अस्थिर नबनाइने स्पष्ट गरे । उनले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव हतारोमा आएको टिप्पणी गर्दै नेकपा कानूनी रुपमा विभाजित नभएको र अविश्वास प्रस्ताव सामान्य कुरा भएको जनाए ।
अविश्वास प्रस्ताव रीतपूर्वक पेश भएपछि नेकपाकै अर्का समूहसँग वा नेपाली कांग्रेससँगको सहकार्यमा सरकार गठन गर्ने भन्ने टुङ्गोमा त्यतिबेला नै पुग्ने जनाउँदै मन्त्री कार्कीले केन्द्रदेखि प्राविधिक रुपले पार्टी विभाजन भइसकेकाले तत्काल एकता हुन सक्ने सम्भावना कमजोर रहेको स्पष्ट गरे ।
नेकपाका केन्द्रीय सदस्य कार्कीले वैचारिक नभई पदीय लडाइँका कारण राजनीतिक रुपमा पार्टी विभाजित हुन पुगेको धारणा राखे ।