स्वास्थ्यकर्मीको घर बिदा रोक्का, पाँच अस्पतालमा आइसोलेसन केन्द्र

स्वास्थ्यकर्मीको घर बिदा रोक्का, पाँच अस्पतालमा आइसोलेसन केन्द्र


सरकारले मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बिरामी देखिए तत्काल उपचारको व्यवस्था गर्न राजधानीका पाँचवटा अस्पताललाई उपचार केन्द्र बनाउने भएको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा रहेको ‘कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी एक्सन टिम’ ले पाँचवटा ठूला अस्पताललाई सिल गरेर आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो। स्वास्थ्य र सुरक्षा संवेदनशीलताका कारण ती अस्पतालको नाम सार्वजनिक नगरिएको टिमका सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए।

स्वास्थ्य सुविधा र भौगोलिक अनुकूलता हेरेर निजी र सरकारी दुवै अस्पताललाई त्यस्तो उपचार केन्द्र बनाउन लागिएको उनले स्पष्ट पारे। ती अस्पतालका बिरामीलाई अन्यत्र स्थानान्तरण गरिनेछ।

सरकारले उपत्यकामा कम्तीमा पाँच सय आइसोलेसन बेड बनाउने जनाएको छ। कोरोना उपचार केन्द्रका रूपमा विकास गरिने अस्पताललाई चारैतिर सुरक्षा घेरामा राखेर सर्वसाधारणको आवातजावत निषेध गरिनेछ। ‘कोरोना भाइरस संक्रमणविरुद्ध पूर्वतयारी स्वरूप उपचार केन्द्र र क्वारेन्टाइन स्थापनाका लागि सरकार युद्धस्तरमा लागेको छ,’ कोइरालाले भने, ‘राजधानीमा मात्रै कम्तीमा पाँच सय आइसोलेसन बेड बनाउन निर्देशन दिइसकेका छौं।’

सुरक्षा निकायबाट सञ्चालित अस्पतालहरूमा समेत कोरोना भाइरस उपचार केन्द्र बनाउन र त्यहीअनुसार आइसोलेसन बेड निर्माण गर्न पत्र पठाइसकिएको जानकारी कोइरालाले दिए। उनका अनुसार सातवटै प्रदेशका सरकारी तथा निजी अस्पतालमा क्षमताअनुसार अनिवार्य आइसोलेसन बेड स्थापना गर्न पनि निर्देशन दिइसकिएको छ। ‘उपत्यकामा कम्तीमा ५ सयवटा र प्रदेशका हरेक अस्पतालले ५ देखि १० वटा आइसोलेसन बेड निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसमध्ये ठूला अस्पतालले कम्तीमा दुईवटा आईसीयूसहितको आइसोलेसन बेड बनाउनुपर्नेछ।’

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालमा ५० देखि १ सय जनासम्मको उपचार हुने गरी व्यवस्था मिलाउन निर्देशन दिइएको कोइरालाले जानकारी दिए। सरकारले कोरोनाको सम्भावित संक्रमणलाई ध्यान दिई सबै सरकारी अस्पताललाई चिकित्सक र स्वास्थ्यकर्मीलाई बिदा नदिन निर्देशन दिएको छ।

‘मुलुक रोगव्याधी र महामारीमा पर्दा निजी र सरकारी भन्ने हुँदैन, सरकारले आवश्यकताअनुसार जुनसुकै अस्पतालबाट उपचार सेवा प्रदान गर्छ,’ उनले भने, ‘सरकारी स्वास्थ्य संस्थाहरूलाई अतिआवश्यक काममा बाहेक चिकित्सक, स्वास्थ्यकर्मी, नर्सलगायत कर्मचारीलाई बिदामा नछाड्न भनेका छौं।’ कान्तिपुरबाट

Logo