कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने पाँच हजार ४०८

कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने पाँच हजार ४०८


काठमाडौं ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या शुक्रबारसम्म पाँच हजार ४०८ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला एक सय ३३ देशमा फैलिसकेको छ । हालसम्म एक लाख ४५ हजार ३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा बढी चीनमा तीन हजार १७७ जनाको उक्त भाइरसको सङ्क्रमणबाट मृत्यु भएकोे विश्व स्वास्थ्य सङ्गठन तथा सङ्क्रमण फैलिएका मुलुकका अधिकारीले दिएको तथ्याङ्कमा छ । अहिलेसम्म इटालीमा एक हजार २६६, इरानमा पाँच सय १४, दक्षिण कोरियामा ७२, स्पेनमा १३३ र फ्रान्समा ७९ जनाले कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाका कारण अमेरिकामा पनि ४१ जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको सङक्रमण दर घटेर एक अङ्कमा पुगेको छ अर्थात् विगत दुई तीन दिनदेखि सङ्क्रमितको सङ्ख्या १० भन्दा कम रहने गरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।एएफपी

Logo