धनगढी ।
प्रधानमन्त्री केपी ओलीले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको पनि बताए।
पार्टीबाट अलग भएको समूहप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ बुहारी र सालोवाला पार्टी नभएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिएका छन् । सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल पक्ष चुनाव लड्न डराएको दावी गरे । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा चुनौतिका साथ भने, ‘प्रचण्ड–माधव पक्ष चुनावमा जान डराउँदै हुनुहुन्छ मलाई थाहा छ । दुई अंकमा जितेर देखाउनुस् । देशभरमा १० सिट ल्याएइर देखाउनुस । म चुनौती दिन्छु ।
ओलीले ३ करोड जनता भएको ठाउँमा २ सय ६५ जना पार्टी छोडेर हिड्दैमा कुनै असर नपर्ने टिप्पणी गरे । उनले पार्टी छाडेर जाने भगौडाहरुलाई जनताले सजाय दिने समेत बताए । प्रधानमन्त्री ओलीले प्रचण्डको नियतीमाथि प्रश्न उठाउँदै भने, ‘छोरी वुहारी, भाइ भतिजा नाता परिवार र पैसा बाहेक उनीहरुको ध्यान अन्यत्र छैन । काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ । तर आफ्नो पारा देखाइहाले’ ।
उनले, अर्का नेता माधवकुमार नेपाललाई पनि कहिल्यै पनि पार्टीमा निर्वाचित नेता बन्न नसकेको टिप्पणी गरे । नेपालले अहिले पनि हारेपछि नै पद दावी गरेको आरोप पनि लगाए । १५ वर्षसम्म माधव नेपालले आफ्नो समर्थनमा पार्टी सन्चालन गरे पनि पार्टी कार्यकर्ताबाट निर्वाचित हुन नसकेको स्मरण समेत गरे । प्रधानमन्त्री ओलीले माधव नेपालभन्दा आफू १० वर्षअघि पार्टीमा लागेको भन्दै नेपाललाई आफूले राजनीतिमा ल्याएको दावी गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई भगौडाको संज्ञा दिँदै उनीहरूको पछि नलाग्न कार्यकर्ताहरू आग्रह समेत गरेका छन् । पार्टी छोडेर जानेहरू भागौडा भएकाले उनीहरूको पछि लाग्नु नहुने ओलीको भनाई छ ।