धनगढी ।
प्रधानमन्त्री केपी शर्मा ओली आफू अध्यक्ष रहेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गरेका छन्।
तर प्रधानमन्त्री ओलीको स्वागतका लागि प्रदेश सरकारको शून्य सहभागिता देखिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरी कोही पनि धनगढी विमानस्थल नगएका हुन् । यी पाँचै जना दाहाल–नेपाल पक्षमा खुलेका छन्। प्रदेश प्रमुख शर्मिला पन्तबाहेक मुख्यमन्त्री र मन्त्रीहरू विमानस्थल गएनन्।
संघीय चार मन्त्री वाणिज्य अथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम आले मगर, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी धनगढी विमानस्थल पुगेका थिए। प्रदेश सरकारमा ओली पक्षका मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको छ भने आर्थिक मामिलामन्त्रीले राजीनामा दिएका छन्।
वनमन्त्री मगरले मुख्यमन्त्रीसहितका मन्त्रीमा नेपाली संस्कार नभएको बताए । ‘देशको प्रधानमन्त्री आएका बेला प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू स्वागतका लागि जाँदैनन् भने के को संस्कार भन्ने ?’, उनले भने, ‘अहिले पक्ष–विपक्ष जे भए पनि पार्टी विभाजन नभएको र देशका प्रधानमन्त्रीका लागि प्रदेश सरकारले गरेको यो अपमान हो।’
मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले प्रधानमन्त्रीको भ्रमणबारे आधिकारिक जानकारी नआएकाले स्वागतमा नगएको बताए । ‘यो आफ्नो गुटको भेला हो, अर्को गुटकालाई किन भन्ने भनेर प्रधानमन्त्रीको सचिवालयले खबर नगरेको होला’, उनले भने, त्यसैले गएनौं।’ प्रदेश सरकारका मुख्यसचिव, सचिवहरूलाई लिखितै जानकारी भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भने केही जानकारी नआएको प्रतिक्रिया उनले दिए।अन्नपूर्णबाट