काठमाडौं ।
हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये आइतबार राष्ट्रिसभाको हिउँदे अधिवेशनको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा उठेका प्रश्नको जवाफ तथा समसामयिक विषयमा आफ्नो भनाई राखेका छन् । उनले प्रतिनिधिसभाको विघटन राजनीतिक स्थिरता र स्थायित्वका लागि गरेको दावी समेत गरेका छन् । उनले ताजा जनादेशमा गएर आफूलाई जनताबाटै दण्डित गर्न पनि सभामार्फत सबै विरोधी प्रतिपक्षिहरूलाई चुनौती दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चरित्र अधिनायकवादी र निरंकुश कदम भएको प्रचण्ड–माधव पक्षिय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ठहर गरेको छ । उक्त बैठकले ओलीले यस्तो चिरत्र तत्काल रोक्न पनि चेतावनी दिएको छ । आजै प्रचण्ड–माधव पक्षिय नेकपाका २३ जना राष्ट्रियसभा सदस्यद्वारा बैठक बहिस्कार गरेका छन् भने, देशका विभिन्न स्थानमा प्रधानमन्त्रीको कदम विरुद्ध बयलगाढासहितको विरोध प्रदर्शन भएका छन् ।
बेलायत सरकारले विकासशील तथा जोखिममा रहेका मुलुकका लागि कोरोना भाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यस्तै यसै वर्ष बेलायत सरकारले ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोभिड–१९ को खोप वितरण गर्ने तयारी पनि गरेको छ ।
नेपालकी एथ्लेटिक्स खेलाडी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् । ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पारगरेकि थिइन् । यता पुरुष तर्फ भने चोटका कारण किरण सिंह चाैथोमै सिमित हुन पुगे ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरूमा पूँजीगत खर्च बढाउन आग्रह गरेका छन् । स्थानीय तहहरुमा पुगेर पनि खर्च हुन नसकेको १ सय २६ अर्ब रुपैयाँलाई सदुपयोग गर्दै गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न मन्त्री पौडेलको आग्रह छ ।