बुटवल ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विद्युत् खपत बढाउन सबैलाई आह्वान गरेका छन् । अहिले विद्युतको उत्पादन धेरै हुँदै गएकाले तत्काल विद्युतको खपत बढाउनु पर्नेमा उनले जोड दिएका हुन्।
भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै–थोरै पूँजी सङ्कलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमूना भएको उनले बताए।
उनले भने, “पहिलोपटक ऊर्जामन्त्री हुँदा विद्युतको अभाव हुने समस्या थियो, अहिले ऊर्जामन्त्री हुँदा विद्युत् धेरै हुने समस्या भएको छ, त्यसैले ऊर्जा खपत बढाउनु पर्ने भएको छ ।” आगामी भदौसम्ममा ५०० मेगावाट बिजुली खेर जाने गरि उत्पादन भइरहेको बताउँदै उनले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा बिक्रीका लागि गृहकार्य पनि भइरहेको जानकारी दिए।
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गरे। उद्योगधन्दा राम्रोसँग सञ्चालन गरेकाहरुले देश पनि राम्रोसँग सञ्चालन गर्न सक्ने बताउँदै उनले उद्योगी व्यवसायी पनि राजनीतिमा आए देश सफल हुने धारणा राखेका थिए ।
देशमा राजनीतिक अस्थिरता र धेरै आन्दोलन हुँदा उद्यमी लामो समयसम्म समस्यामा परे पनि अब राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाजनक अवस्था ल्याएको उनको भनाइ थियो ।
जलशक्ति र जनशक्तिमा नेपाल बलियो भएकाले जलशक्तिलाई उपयोग गर्न भिजन लुम्बिनी जस्ता सामूहिक कम्पनीहरुले ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे। काँग्रेस नेता खाँणले भिजन लुम्बिनीको सामूहिक पूँजी र एकीकृत प्रयास अनुकरणीय रहेको थाहा पाउँदा खुशी लागेको बताए ।