काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा २.९३ प्रतिशतले मात्रै मूल्यबृद्धि दर बढेको तथ्यांक सार्वजनिक गरेको छ । गत आवको यही अवधि मंसिर मसान्तसम्म मूल्यबृद्धि दर ६.५५ प्रतिशतले बढेको थियो । तर चालु आवको सोही अवधिमा मूल्यवृद्धि दर ३.६२ प्रतिशतले घटेर २.९३ प्रतिशतमा सिमित भएको जनाएको छ ।
राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१६ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
यस्तै, २०७६ मंसिरको तुलनामा २०७७ मंसिरमा फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत मुद्रास्फीति रहेको छ । गत आवको सोही अवधिमा यी क्षेत्रहरुमा क्रमशः ७.६० प्रतिशत, ६.६६ प्रतिशत, ५.२७ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो । यो वर्ष हिमालमा सबैभन्दा बढी मूल्यबृद्धि बढेको थियो ।
समीक्षा महिनामा मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १३.३३ प्रतिशत र ३.२६ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ०.६० प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६४ प्रतिशत रहेको छ ।
यस्तै, थोक मुद्रास्फीतितर्फ २०७७ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.९८ प्रतिशत रहेको थियो ।