पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्दा उत्कृष्ट रहेको बताएका छन् ।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा पोखरा पुगेका मन्त्री ढकालले पोखरा विमानस्थलको निर्माण प्रगतिले खुशी लागेको पनि बताए। भैरहवामा निर्माण हुन लागेको विमानस्थलको स्थलगत अवलोकनपछि पोखरा पुगेका मन्त्री ढकालले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताए।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधैं तयार रहेको भन्दै मन्त्री ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताए । सरकारको ध्यान नपुगेका कारण विलम्ब भएका काम र समस्यालाई समयमा हटाउन आफूले पहल लिने पनि उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको छ ।