‘सरकारले दैनिक उपभोग्य बस्तुको आपूर्ती कम हुन दिंदैन’ : मन्त्री भट्ट

‘सरकारले दैनिक उपभोग्य बस्तुको आपूर्ती कम हुन दिंदैन’ : मन्त्री भट्ट


काठमाडौं ।

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वका एक सय भन्दा बढी मुलुकमा सङक्रमण देखिएको छ । यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भएपछि सरकारले सावधानीको लागी सचेत गराइरहेका बेला बजारमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव बनाएर कालोबजारी बढ्न थालेको छ ।

कालोबजारी नियन्त्रण गर्नको लागी सरकारले बजार अनुगमन तथा दैनिक उपभोग्य बस्तुको आपूर्ती कम हुन नदिन सरकार अगाडी बढेको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले बताए ।

सोमबार पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टले अहिले अनावश्यक हल्ला फैलाएर बजारमा कुनै पनि वस्तुको आपूर्ती कम हुन नदिन सम्बन्धित सबै सरोकारवाला निकायहरु सहित बजारमा खटिएको बताए ।

‘सरकारले कुनै पनि बस्तुको आपूर्ती कम हुन नदिन हामी लागि रहेका छौं । सम्बन्धित निकायले २४ घण्टै काम गरिरहनु भएको छ, ढुक्क हुनुहोस कुनै पनि वस्तुको आपूर्तीमा कमी आउँदैन’ मन्त्री भट्टको भनाई छ । सरकारले कुनै पनि केही समस्या आएमा ११३७ हटलाइनमा फोन गर्न आग्रह गरेको छ ।

अहिले बजारमा कोरोना सावधानीको लागी प्रयोग गरिने मास्कदेखि दैनिक उपभोग्य वस्तु तथा ग्यासको अभाव भएको हल्ला आएको छ । यो हल्ला मात्र हो । अहिले चामल, तेल, नुन, ग्यास तथा कुनै पनि खाद्यान्न सामाग्री अभाव छैन ।

साथै ग्यासको हकमा पनि कुन कम्पनीबाट कति बुलेट ग्यास आउँछ र कुन कुन डिपोमा कति मात्रामा गयो र ग्राहकको विवरणसमेत संकलन गरी अध्ययन समेत गर्ने मन्त्रालयको तयारी भएको उनको भनाई छ ।

अहिले आतिनु पर्ने अवस्था रहेको छैन साल्ट ट्रेडिङसँग २० हजार मेट्रिक टन ६ महिनालाई पुग्ने नुन स्टक तथा चामल पनि दैनिक १ हजार क्विन्टल उत्पादन भइरहेको समेत उनले बताएका छन ।

बजारमा केही व्यवसायीहरुले मौकाको फाइदा उठाउँदै महंगोमा बिक्री गर्ने गरेको यदाकदा भेटिए पनि त्यसलाई रोक्न सरकार लागी परेको तथा बजार अनुगमनलाई युनिफाइड टिम बनाइ अनुगमन गरिने बताए । साथै कोरोना भाइरसको संक्रमण भइहालेमा पनि त्यस अवस्थामा पूर्व तयारीका लागि मन्त्रालयले काम गरिरहेको उनले स्पष्ट पारेका छन् ।

Logo