केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनविरुद्ध देशका सबै प्रदेशसभामा कांग्रेसको विरोधसभा (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनविरुद्ध देशका सबै प्रदेशसभामा कांग्रेसको विरोधसभा (भिडियोसहित)


काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले र देशभरका ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा आयोजना गरेको हो । यसैक्रममा कांग्रेस सभापति देउवाले नेपाली कांग्रेस वैशाखमा हुने चुनावका लागि तयार रहेको बताएका छन् ।

बागमती नदी सफाई महाअभियानको शनिबार ४ सय हप्ता पूरा भएको छ । यो अवसरमा शनिबार फोहोरमैला व्यवस्थापन संघले विशेष कार्यक्रमको आयोजना गरी नदी सफाई अभियानलाई झनै प्रभावकारी ढंगले लैजानु पर्ने उल्लेख गरेको छ । विभिन्न सफाई अभियान्ता तथा पेशाकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा नीजि क्षेत्रले मात्र नभएर अब, राज्यले फोहोर तथा ढल नदीमा मिसाउन नहुने सम्बन्धमा छुट्टै कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । । नेता खनालले जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । यस्तै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगमनको खतराबाट देशलाई बचाउन सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने पनि बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको छ । वर्तमान राजनीतिमा ओलीको कदमको समर्थनमा युवाहरूले उक्त जुलुस निकालेका हुन् । जुलुसमा मैथिली भाषामा ‘धोती कुर्था गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएका ब्यानर प्रदर्शन गरिएको थियो । यस्तै सोही जुलुसको शभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चार पूर्व प्रधानन्यायाधीशले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा भड्काएको, राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रमाथि खिल्ली उडाएको भन्दै उनको ट्विटर एकान्ट सधैंका लागि बन्द गिरिएको छ । ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उनले राखेकाले उनको खाता हटाउन बाध्य भएको ट्विटर कम्पनीले जनाएको हो ।

Logo