ब्लगविचार

यहुदी समाजले बदलेको जीवन

समय परिवर्तनशील छ । जसरि प्रकृतिमा समयले ऋतु हरु बदलीरहन्छ त्यसरी नै जिन्दगीमा पनि परिवर्तनहरु भईरहन्छन् । प्रकृति एउटा चक्रमा घुम्छ तर जिन्दगी कुनै म्युजिकल चेयर जस्तो एउटै चक्रमा नघुम्दो रहेछ । जीवन एउटा यात्रा र हण्डर, ठक्कर अनि चोटहरु त्यो यात्राका कोशेढुंगाहरु हुदा रहेछन् । आफुले जिन्दगी व्यतित गर्दा खाएका हण्डरहरु सम्झिनु, ठक्करहरु गन्नु र चोटहरु सुम्सुम्याउनु पनि जिन्दगी कै एउटा अभिन्न पाटो हो । त्यतिबेला बल्ल बुझिने रहेछ । संसारमा सबै भन्दा ठुलो औषधि त समय रहेछ । समयको मल्हम लगाउन सकियो भने गहिरो भन्दा गहिरो घाउ पनि निको हुने रहेछ ।

प्रशव बेदना पछिको खुशियाली जति संतोषजनक हुन्छ । त्यस्तै एक किसिमको वर्णन गर्न नसकिने खुशी प्रदान गरेको छ,यहुदी संसारले मलाई । समयलाई भगवान मान्ने हो भने पक्कै यो बाटो भगवानले नै तय गरिदिएका हुन भन्न मलाई अलिकति पनि संकोच लाग्ने छैन । आस्थामा मान्छे कति गम्भीर हुदोरहेछ भन्नेकुरा मैले आफुले आफैलाई टटोल्दा थाहा पाउँछु । मान्छेले भगवानमा आस्था र परिश्रममा बिश्वास गर्ने हो भने जतिसुकै ठुलो दुखको खाडलबाट पनि सकुशल बाहिर निस्कन सफल हुन्छ  । यो कुरा बुझ्न हामी यहुदी बस्तीमा परिश्रम गरिरहेका दाजुभाई दिदीबैनीहरुले आफ्नै हिजो र आजलाई अन्तर्मनबाट नियाल्ने हो भने बुझ्न सकिहाल्छौं ।

हुन त सबैको परिवेश एउटै हुदैन  । कोही सबैकुरा पुगिसरी भएर पनि थप प्रगतिको लागि आएका हौंला यो सात समुद्रपारको मुलुकमा । कोहि अभावको परिस्थितिलाई चिर्न र कोही सुखका किरणहरु खोज्न आएका होला यो बिरानो ठाउँमा । जे जसरि आएपनि यहाँ आएका हामी नेपालीहरु बिगत भन्दा केही राम्रो वर्तमान र केही उज्जल भविष्यकै खोजीमा आएका हुन्छौं  । म पनि यसबाट कहाँ पो अछुतो बाँच्छु र । आज यहुदी बस्ति र यहुदी समाजले मलाई के दियो भनेर लेखाजोखा गर्ने हो भने एकै वाक्यमा सकिन्छ कुरा । मलाइ यहुदी परिवेशले यहुदी राज्यले, यहुदी समाजले एउटा “नया जिन्दगी दियो” । र एउटा नयाँ जिन्दगीले मेरो जीवनमा के के आशाहरु लिएर आयो ति कुराहरु लेख्नु भन्दा अगाडी कुन कारणबाट कुन परिस्थितिको कारणले अथवा आफ्नो कुन अवस्थालाई छोडेर म यहाँ आए भनेर सम्झन मन लाग्यो ।  म मेरो देश छोड्नु अगाडिको प्रथम पाइलालाई स्मरण गर्न चाहान्छु ।

मेरो नारकीय जीवनको उत्कर्षको समय थियो त्यो, सायद दशैंको बेला थियो । मनभरी पीडा र दुखले भरिएका भावनाहरु खेलिरहेका मात्र थिए । अनगिन्ति पीडाहरुको बाबजुद मनभित्र आशाको एउटा सानो किरण भर्खरै उदाउन लागेको हो कि जस्तो गरि झुल्कने चेस्टा गर्दै थियो । एउटा दुःखी जीवन बाँचिरहेको मान्छेको मनमा आशाको किरण पलाउनु निकै महत्वपुर्ण कुरा हुन्छ । परिस्थितिले दुख दिए पनि मनमा आशाको मरेको थिएँन ।

सामाजिक, नैतिक समस्याहरुमा जेलिएर एउटा मनोबैज्ञानिक भुमरीमा फसेको मान्छेले आफ्नो अवस्था सजिलै थाहा पाउन सक्दैन रहेछ । आफ्नो वास्तविकता के हो र आफुले मेहनत गरेरै आफ्नो जिन्दगीको अवस्था परिवर्तन गर्न सक्छु भन्ने कुरा मैले महसुस गर्दा समय निकै घर्किसकेको थियो ।

लगातार भोगिरहेको भौतिक क्षति र आर्थिक समस्याकै कारण आफुले नपाउनुपर्ने दुख पाइरहेको कुरा मैले बुझ्ने समय आउदा मलाइ आफुले धेरै ढिलो कुरा बुझेको म आत्माग्लानि हुन सुरु भैसकेको थियो । फेरि पनि म मेरा दुखको निराकरणको खोजीमा र मेरा साना साना नाबालक छोरीहरुको भविष्यको खोजीमा म देश छोडेर बिदेश पलायन हुन विवश हुदै थिएँ । 

म बैदेशिक रोजगारीको बाटो खोज्दै केही महिना पहिले एजेन्सीको सहयोगबाट इजरायल जानको लागी तयारी गरेकी थिएँ । दशैको समय थियो । मेरी ठुली छोरी पाँच वर्षकी र सानी छोरी तिन वर्षकि हुँदै थिई । मनभरी पीडाले एकछत्र रजाईं गरेको भए पनि अर्को वर्ष छोरीहरुसंग दशै मनाउन पाउदिन होला भन्दै उनीहरुको साथमा रम्ने कोसिस गर्दै थिए । 

एजेन्सी मार्फत मलाई पुर्व सुचना आईसकेको थियो । ईजरायलको भिषा निस्किन सबै प्रकृया तयारी अबस्थामा रहेको हुँदा मलाई पनि तयारी अबस्थामा रहनको लागी एजेण्टले जानकारी गराईसकेका थिए । 

त्यति बेला दशै र तिहार छोरीहरुसँग मनाएँ । पर्वहरु सकिए । तिहारको लगत्तै मेरो भिषा पनि आएको खबर पाएँ । मेरा छोरीहरुसँगको मेरो दशैंको खुशी सकिन नपाउँदै अचनाक बिछोडको बादल मडारियो । एकातिर आफुलाई अथाह दुखको भुमरीबाट पार लगाउने एकमात्र बिकल्पको ढोका खुलेको छ अर्को तिर कल्कलाउदा दुधे सन्तानलाई चटक्कै छोडेर हिड्नुपर्ने अवस्था आइपर्यो । मैले मनभरी अथाह पीडा महसुस गरें । छोरीहरु सानै छन् । अहिले सम्म राम्रोसँग आवाज समेत निस्केको छैन । म जतिसुकै पीडामा हुँदा पनि अथवा जस्तो सुकै सास्ती भोग्न परेको अवस्थामा पनि मेरी छोरीहरुलाई मेरो काखबाट टाढा गरेकी थिईन । जस्तो सुकै पीडा र समस्यामा समेत टाढा नगरेका आफ्ना मुटुका टुक्रालाई  बर्षौंको लागि छोडेर टाढा हुँदै थिएँ  । 

म इजरायल जाने दिन नजिकिदै थियो । तिहारको पाँच दिनपछि गाउँ हुँदै सदरमुकाम र त्यसपछि काठमाडौको यात्रा तय गर्ने तयारी गर्दै थिएँ, बेलुका सामान्य लुगाहरु मिलाएँ र छोरीहरुलाई सुताएँ । 

सधैं जसो आज पनि छोरीहरुसँगै सुत्ने प्रयास गरें । मेरो निद्रा हराएको थियो । सानो छोरी मेरो छाति तिर छामछुम पार्दै थिई । ती कोमल हातहरुले आफ्नो अन्तिम घुट्को खाना खोज्दै थिई सायद । उसलाई के थाहा भोलि देखि यो छातीको न्यानो देखि बिमुख हुदैछु भनेर । ती निर्दोष ओठहरुले मेरो स्तन सुस्तरी चुस्दै थिई । मेरो मन भरिएर ब्याकुल बनेको थियो । आँखाबाट अश्रु धारा बगेको थियो । ठूलो छोरी मेरो कपडाको फेर समातेर गहिरो निद्रामा थिई । म सानो छोरीलाई निदाउने प्रयत्नमा थिएँ । मेरो आफ्ने निद्राको भने सुदुर क्षितिज सम्म कुनै नामोनिसान थिएन । थियो त केवल हृदय बिष्फोट होला जस्तो भक्कानो बाँकी थियो जुन भक्कानोलाई फोडेर म छोरीहरुको निद्रा खल्बल्याउन चाहिरहेको थिईन । 

जवर्जस्ती रोकिएको रुवाई र पहिरोले थुनिएका नदि उस्तै हुनेरहेछन । जतिबेला पनि फुट्न सक्दारहेछन मैले निरन्तर प्रयास गर्दै थिए कतै नपोखिउन यी पिडाका भावनाहरु, यी बिछोडका तडपाईहरु ।

मिर्मिरे उज्यालो हुन थाल्यो । भालेले डाक छोड्ने बेला हुन लाग्यो । भालेको डाकोसंगै मेरो रुवाई पनि नफुत्कियोस भनेर मैले दाँतले कपडालाई दह्रोसँग च्यापें । बिस्तारै चराचुरुङ्गी कराउन थाले । छोरी परदेशिने पीडाले बुवा आमा पनि मर्माहत हुनुहुन्थ्यो सायद त्यसैले उहाँहरु पनि रात भरि सुत्न सक्नुभएको थिएन ।

भालेको डाक संगै आमाले सुस्तरी मलाइ उठाउनुभयो र तयार हुन अह्राउदै छोरीहरु नब्युझीउन भनेर सचेत गराउनु भयो । छोरीहरु न उठ्दै मैले घर छोडीसक्नु पर्ने थियो । म हिड्ने बेलामा नानीहरु रोलान र त्यो रुवाईले मलाइ बिचलित बनाउला भनेर आमाले मलाइ नानीहरु न उठ्दै साईत गर्न सुझाउनु भएको थियो । मैले मेरो भक्कानो किलकिले मै दबाएँ । भित्र घाँटीमा नराम्रोसँग पोले जस्तो अनुभव भयो, मेरो नाक सुक्सुकायो र आँखाबाट फेरि एक तहरो झरी बर्सियो । 

म उठेर तयार भएँ । तयार त के हुनु थियो र लिएर हिड्ने झिटी गुन्टा तयार नै थियो । खालि काखमा रहेका छोरीहरुलाई भुईमा राख्नु बिसाउनु बाँकी थियो । मैले त्यो पनि गरें र उठेर हिड्न तयार भएँ ।

सानी छोरी मस्त निद्रामा थिई – उठेर हेरें सपनामै दुध चुस्दैछ उ । दुईटा ओठ अगाडी ल्याएर जोडले च्याप्दै खिच्दै गरेकी छ सायद सपनामा दुध खाएको देखेकी होलि । मेरो छाति रसायो, मलाइ एक पटक उसलाई छातीमा टाँसेर दुध चुसाउन मन लाग्यो तर हिड्ने बेला ब्युझेर रुन सुरु गरि भने उसलाई भुल्याउन धेरै समय लाग्छ । परिस्थितिको अगाडी मैले मेरो मातृ वात्सल्यताले हारेको टुलुटुलु हेरिरहें । 

जब मेरो घर छोड्ने बेला हुँदै थियो ठुली छोरीलाई निद्राले छोड्यो उ ब्युझेर उठी । प्राय मैले ओछ्यान छोड्दासंगै बिउझिने बानि छ उसको । सायद काखको न्यानोमा निदाउने बानिले हो कि । म उठेपछि मेरै लुगाको फेर समातेर पछि लागि रहन्छे । उसले अचानकै सोध्न थाली ममि हजुर कहाँ जान लाग्नु भएको भनेर । अहिले बैनी उठ्छे र रुन्छे त्यसैले उसलाई पनि संगै लिएर जाम भन्न थालि । उसलाई अहिले सम्म पनि आफ्नी आमा एक्लै कतै परदेशमा आफ्नो सुनौलो भविष्य खोज्न जान लागेकी हो भन्ने पत्तो थिएन । बरा निर्दोष मेरी छोरी आफु पनि आमासंगै जान लागेको आभाषले रमाउन थालि र संगै बहिनिलाई पनि लिएर जान आग्रह गर्न थालि । 

उस्ले यति शब्द मात्र खसाल्न के लागेकी लामो समय देखि मैले हिम नदि झैं बनाएर जवर्जस्ती रोकेर राखेका मेरा आशुले मेरो धैर्यताको बाध फोड्दै झर्न थाले । पिडा र ब्यथाहरु चित्कारिदै निस्किन थाले । 

ठुलो नानुलाई बिस रुपैयाँ हातमा थमाउदै मैले उसको लागि हेलिकप्टर र बैनीको लागि गाडी लिन जान लागेको भनेर बैनिको ख्याल गर्नु भनेर सिकाएँ । आज्ञाकारी मेरी छोरीले आफु सफा भएर बस्ने र कसैलाई दुख नदिने अनि बैनीको ख्याल गर्ने भन्दै निर्दोष वाचाहरु गर्न थालि । कति ज्ञानी मेरी छोरी भन्न मात्रै लागेकी के थिएं नानू पनि सङै रुन पो थालि । मेरो छातीमा अचानक ठुलो जाँतोले थिचे जस्तो भयो । भक्कानिएर रोएर आफैलाई रित्याउँन पनि नमिल्ने के गरूँ …दुइ टुक्रा आफ्नो प्राण आमाको जिम्मा लगाउदै फुट्न लागेको छाती लिएर म आफ्नो र छोरीहरुको सुनौलो भविष्यको लागि सुदुर परदेशको यात्राको लागि घर बाट बिदा भएँ । 

घरबाट हिंडेपछि हवाईजहाज नचढुंन्जेलको कहानी बर्णन गर्ने हो भने एउटा सिंगो सिनेमाको पटकथा तयार हुन्छ अहिले त्यतातिर जान चाहन्न । हरेक विदेशिएको मान्छेको मनमा बिदेशमा आफ्नो कामको सुरुवाती समयमा एक न एक पटक आफ्नो पुरानो र नयाँ दिनहरु सम्झने र मुल्यांकन गर्ने समय आउदो रहेछ । आफ्ना मुटुका टुक्रा छोरीहरुको भविष्य बनाउने सपना बुनेर असज परिस्थितिबाट अचानक नयाँ परिवेशमा आइपुगेको थिएँ । परदेश आएपछि हामीहरुले जुनसुकै परिस्थितिलाई  सामना गर्नै पर्ने बाध्यतामा हुन्छौं र चुपचाप परिस्थितिहरुसँग सम्झौता गर्नैपर्ने रहेछ । नत्र हाम्रा कतिपय अवस्थाहरु अंग्रेजी शब्दले अर्थ्याउदा मात्र मिठा सुनिन्छन् । “डोमेष्टिक हेल्पर र केयर गिभर” शब्दहरु नै हाम्रा वर्तमान र हुन् जसले हाम्रो भविष्य मात्र नभएर हाम्रा सन्तानको भविष्य समेत निर्धारण गर्ने तागत राखेका छन् । यहि नै कर्म हो र म यही कर्ममा पुरा पुरा विश्वास गरेर आफ्नो र आफ्ना सन्ततिका सुनौलो भविष्य खोजिरहेछु ।

नेपालको परिवेश अलिकति फरक थियो । आफ्नै मानो उब्जनी हुने जमिन भएकाहरुले अरुको जमिनमा गर्ने कामलाई अर्मपर्म भनिन्छ भने आफ्नो जमिन नहुनेले अरुकोमा गर्ने कामलाई “निमेक” भनिन्छ । अर्मपर्मको राम्रै इज्जत भएपनि निमेक गरेर खानेको इज्जत गर्न हाम्रो समाजले अझै सकेको छैन । निमेक गरेर खानु, आफ्नो कामको उचित ज्याला पाउनु र हरेक कामको बराबर सम्मान हुन्छ भन्ने कुरा बुझ्नु मलाइ यहुदी समाजले सिकाएका महत्वपुर्ण कुराहरु हुन । मेहनत गर्न लाज मान्न हुदैन र ईमान्दारी पुर्वक मेहनत गरियो भने एक न एक दिन उज्यालो किरण आउनेछ र जिन्दगीको अध्यारो बिस्तारै हराउनेछ । यस्ता जीवन सुन्दर र सकारात्मक बनाउने सोच विकास गराउनमा यो समाजले मेरो जीवनमा गहिरो छाप छोडेको छ  ।

अतः म धेरै धेरै धन्यबाद दिन चाहान्छु यो समाजलाई, यो देशलाई जसले मलाई उज्यालो भविष्य मात्र दिएन । समाजमा आफ्नो प्रतिष्ठाको रक्षा कसरि गर्ने भन्ने पनि सिकायो । संघर्ष गर्न मात्र सिकाएन । संघर्ष पछिको उपलब्धिको रक्षा गर्न समेत सिकायो । मान्छे नै हुँ भन्ने अनुभूति मात्र गराएन-मान्छे भैसकेपछि जिन्दगी बाँच्ने न्युनतम तरिका समेत सिकायो । परिस्थितिसँग हारेर जीवन त्याग्ने विचार आउने यो मनमा बाँचे मात्र परिस्थितिलाई पराजित गर्न सकिन्छ भन्ने पाठ सिकायो । समग्रमा मलाई यहुदी समाजले, मेरो कर्मथलो ईजरायलले मलाई डटेर बाँच्न सिकायो र बाँच्नको लागि डटेर कर्म गर्न सिकायो । हेरौ अझ कति यस भूमिमा बस्नु छ । जति बसे पनि अझ बढी कुराहरु सिक्नेछु । अझ बढी जीवन बुझ्नेछु भनेर कर्म गर्छु र गरिरहन्छु ।

दीपिका भुसाल हाल ईजरायल

 

SKIP THIS