नमुना परीक्षण गरिएका ४३७ नेपालीमा कोरोना संक्रमण देखिएन (भिडियोसहित)

नमुना परीक्षण गरिएका ४३७ नेपालीमा कोरोना संक्रमण देखिएन (भिडियोसहित)


काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको आशंकामा अहिलेसम्म ४३७ जनाको नमुना परीक्षण गरिएको छ । तीमध्ये एक जनामा कोरोना संक्रमण भेटिए पनि अहिले नेपाल कोरोना भाइरस मुक्त छ ।

चीनबाट नेपाल आएका एक जना नेपाली विद्यार्थीको उपचारपछि अहिले स्वस्थ भइसकेकाले आत्तीहाल्नु पर्ने अवस्था नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परिक्षण गरिएका ४३४ जनामध्ये पाँच जनाको रिर्पोट आउन बाँकी छ । उनीहरुलाई अहिले काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ ।

नमुना परीक्षण गरिएका ४३७ जना चीनबाट उद्धार गरी ल्याइएका १७५ विद्यार्थीसमेत जोडिएको संख्या हो । चीनबाट ल्याइएका कसैमा पनि कोरोना देखिएको थिएन । चीनबाट ल्याइएका १७५ जना विद्यार्थीलाई भक्तपुरको विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा १४ दिनसम्म राखिएको थियो । दुईपटक गरिएको नमुना परिक्षणका कुनै पनि विद्यार्थीमा कोरोना भाइरसको लक्षण नदेखिएकाले घर पठाइएको थियो ।

कोरोना भाइरसको संक्रमण विश्वका कम्तिमा ९० भन्दा बढी देशमा फैलिइसकेको छ । शुक्रबारसम्म कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या एक लाख भन्दामाथि पुगिसकेको छ । अहिलेसम्म विश्वभर ३ हजार ४ सय भन्दा बढी मानिसको कोरोना भाइरसकै कारण निधन भइसकेको छ ।

संक्रमित तथा निधन हुनेमा अधिकांश चीनका नागरिक रहेका छन् । चीनमा अहिले नयाँ संक्रमणको दर घट्दै गएपनि विश्वका अन्य देशमा बढ्दै गएको छ । मध्यपूर्वको इरान तथा युरोपको इटालीमा कोरोना संक्रमण हुनेको अवस्था थप संकटपूर्ण बन्दै गएको छ ।

इटालीमा अहिलेसम्म १९७ जनाको निधन भइसकेको छ । यस्तै इरानमा पनि अहिलेसम्म १२४ जनाको कोरोनाकै कारण निधन भएको त्यहाँको सरकारी अधिकारीले जानकारी दिएका छन् । इरानमा शुक्रबार एकै दिन एक हजार जनामा कोरोनाको संक्रमण देखिएको छ । तर चीनमा भने नयाँ संक्रमणको दर तुलनात्मक रुपमा निकै घट्दै गएको छ । चीनमा शुक्रबार ९० जनामा संक्रमण नयाँ संक्रमण पुष्टि भएको छ । हेरौं भिडियोमा :

Logo