पशुलाई पनि सुत्केरी भत्ता (भिडियोसहित)

पशुलाई पनि सुत्केरी भत्ता (भिडियोसहित)


काठमाडौं ।

सिन्धुलीको कमलामाई नगरपालिकाले गाई तथा भैँसीलाई सुत्केरी भत्ता वितरण गर्न थालेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रम अन्तर्गत कमलामाईका १४ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु शाखाका पशुसेवा प्राविधिक मीनबहादुर थापाले बताएका छन् । सहयोग अन्तर्गत प्रति सुत्केरी पशुलाई दुई हजार रुपैयाँका दरले भत्ता वितरण गरिएको हो ।

किसानले पशु सुत्केरी भत्ता प्राप्त गर्न पशुधनीले वडाबाट पशु सुत्केरी भएको हो भन्ने सिफारिस, पशुधनीको फोटो, पशुको बीमा गराएको प्रमाणपत्रको प्रतिलिपि, र प्रमाणका रुपमा पाडा वा पाडी लिएर जानुपर्ने प्रावधान बनाइएको छ । सोहि प्रावधान अनुसार पशु वीमा गरेका धनीले मात्रै पशु सुत्केरी भत्ता पाउने गरेका छन् । सुत्केरी भत्ता पाउन थालेपछि पशु वीमा पनि बढ्न थालेको छ ।

विगतमा एक आर्थिक वर्षमा पन्ध्र वटा मात्र पशुको बीमा हुने गरेकोमा भक्ता पाउन थालेपछि नगर क्षेत्रका एक हजारभन्दा बढी पशुपालक किसानले पशुको बीमा गरिसकेका छन् ।

नेपाल सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लगानीमा पशुको बीमा गर्न सकिन्छ । पशुको क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत रकम सम्बन्धित पशुधनीले क्षतिपूर्तिस्वरूप पाउने छन् । पशुको बीमा गराउने पशुधनीको पनि दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा स्वतः हुने प्रावधान रहेको छ । पशु बीमा गराउँदा सुत्केरी भत्ता पनि प्राप्त हुने र पशुको मृत्यु भएमा पूर्णरूपमा नोक्सानीबाट छुट्कारा पाउने भएकाले पशु बीमा गराउने पशुपालकको संख्या पनि बढ्दै गएको छ । भिडियोमा :

Logo