कांग्रेसद्वारा सबै तहका कार्यक्रमहरु स्थगित

कांग्रेसद्वारा सबै तहका कार्यक्रमहरु स्थगित


काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सबै तहका भेला, सम्मेलन र सभा लगायतका कार्यक्रमहरु स्थगित गरेको छ ।

विश्वभरी नै कोरोना भाइरस (कोभिड-१९) को सन्त्रास फैलिएका बेला कांग्रेसले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नगरिएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीका सभा सम्मेलन स्थगित भएपनि पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु भने जारी नै रहनेछन् । पार्टीका समायोजन, क्रियाशिल नवीकरण र वितरण लगायतका काम सम्बन्धित समिति मार्फत जारी रहेको उनले बताए ।

सरकारी लापरवाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई कांग्रेसले गम्भिर रुपमा लिएको जनाएको छ । जोखिमको सामना गर्ने राष्ट्रिय अभियानमा सरकारसँगै रहेको उल्लेख गर्दै शर्माले सरकार र सम्बन्धित निकायले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई आत्मसाथ गर्न पनि अपिल गरे ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोनाको उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराएको अवस्थामा ‘शहरदेखि गाउँसम्म र गाउँ टोल हुँदै घरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टीले अघि बढाउने उनले बताए ।

Logo