दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न


दैलेख ।

दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षण अन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो ।

जिल्लाका नाभिस्थान, शिरिस्थान, पादुकालगायत क्षेत्रलाई आधार मानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किमि साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षण पहिलो चरणको काम सम्पन्न भएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले बताए ।

उनका अनुसार साइस्मिक सर्वेक्षण अन्तर्गत १० लाइनमध्ये तीन पूर्वपश्चिम र सात उत्तरदक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुन सक्ने ठाउँ हेरी चार किमी जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षणको काम सम्पन्न भएसँगै पहिलो चरणको काम भएको बताए ।

चीनको प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग, दुल्लु नगरपालिकाका केही क्षेत्र , डुङ्गेश्र गाउँपालिका केही भूभाग , चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिकाका केही क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो ।

खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा त्रिपाठीले चीनको प्राविधिक टोलीले अहिलेसम्म गरेको चार सर्वेक्षणबाट सङ्कलन गरिएका तथ्यांकको चीनमा गएर अध्ययन गर्ने र अध्ययनपछि दैलेखको कुन भूभागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालेपछि चीनकै अर्को विशेषज्ञ टोली आएर चार किमी गहिराइसम्म मुख्य डिलिङको काम गरिने बताए ।

नेपालको संविधान जारी भएपछि मधेशवादी दलको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा ताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन गएको बेला पेट्रोलियम पदार्थ अन्वेषण उत्खनन् गर्ने सहमति भएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वेक्षण कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । गत कात्तिकमा तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको उद्घाटन गरेका थिए ।
रासस

Logo