जया शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी सम्पन्न

जया शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी सम्पन्न


काठमाडौं ।
चित्रकार जया शर्माको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शुक्रबारदेखि आयोजना भएको ‘ड्रिम वाक २०३३’ नामक चित्रकला प्रदर्शनी सम्पन्न भएको हो । प्रर्दशनीमा शर्माले आफ्नो जीवनको उतारचढावहरूलाई चित्रको माध्यमबाट प्रस्तुत गरेकी थिइन् ।

प्रदर्शनीमा राखिएका चित्रहरूमा उनले जीवनका विभिन्न महत्वपूर्ण क्षणहरूलाई प्राथमिकता दिएकी छिन् । ‘प्रदर्शनीमा राखिएका चित्रकलामा मैले जीवनकालमा पार गरेका विभिन्न महत्वपूर्ण क्षणहरूलाई प्राथमिकता दिएको छु। यसलाई मैले जीवनको उपलब्धीहरूको संग्रह भन्ने रुचाउँछु,’ उनले भनिन्।

भर्खरै सम्पन्न उनको यो तेस्रो एकल चित्रकला प्रदर्शनी हो । प्रदर्शनीमा विम्बात्मक शैलीका चित्रहरूले विभिन्न कालखन्डलाई जोड दिएको उनले बताएकी छिन् ।

जीवन सुन्दर छ भन्ने भावले आफूलाई चित्रकला कोर्न प्रोत्साहित गर्ने गरेको उनको अनुभव छ । जन्मदेखि मृत्युसम्म मानिसले जीवनका अनुभव गरेको भोगाइहरू क्यानभासमा उतार्न सहज भने नभएको अनुभव पनि उनी सँग छ।

‘मैले जीवनमा विभिन्न अनुभवहरू संगालेको छु । त्यसैलाई आधार बनाएर तयार गरिएका विम्वात्मक शैलीका चित्रहरूले उत्तर खोज्ने प्रयास गरिरहेको छ,’ उनले भनिन्, ‘संसारमा मानिसको जन्मसँग उसले जीवनकालमा सफलता प्राप्त गर्न प्रतिस्पर्धा गरिरहेको हुन्छ भन्ने देखाउनु नै मेरा चित्रहरुको प्रयास हो ।’

प्रदर्शनीमा उनले प्रतिस्थापन कलामार्फत बाल्यकालको स्मरण गरेकी छिन्। बाल्यकालमा खेलेको रमाइलो खेललाई उनले आफ्नै शैलीमा सम्झिने प्रयास गरेकी छिन्। करिब डेढ वर्षको अन्तरालमा उनले यी चित्रकलाहरू तयार गरेकी थिइन् । प्रदर्शनी फागुन १२ सम्म चलेको थियो ।

Logo