थाइल्यान्डमा हुने बक्सिङ खेलका लागि खेलाडी छनोट सुरु

थाइल्यान्डमा हुने बक्सिङ खेलका लागि खेलाडी छनोट सुरु


काठमाडौं ।

आगामी अप्रिल १ देखि १० तारिखसम्म थाइल्यान्डको पतायामा आयोजना हुने थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिपका लागि नेपाली खेलाडीको छनोट मंगलबारबाट सुरु भएको छ । पुरुषमा ६ र महिलामा चार तौल समूहमा छनोट खेल सञ्चालन हुनेछ ।

मंगलबार भएको पुरुष ५७ केजी तौल समूहमा जित हात पार्दै ललितपुरका बुद्धग्याल्पो लामा सेमिफाइनलमा पुगेका छन् । उनले दाङका अनिलकुमार पुनलाई पराजित गरे । यसैगरी त्रिभुवन आर्मी क्लबका पुरनले झापाका सुरेन्द्र राईलाई हराउँदै अन्तिम चारमा स्थान बनाए । पुरुषकै ६३ केजीमा अभिनय राई र दानबहादुर दर्लामी पनि सेमिफाइनल पुगे । राईले दाङका निसम जीएम र दर्लामीले जनकपुरका अमरनाथ शाहलाई पराजित गरे । यस्तै काठमाडौंका सनिल शाहीले कास्कीका पवन गुरुङलाई हराए ।

पुरुषकै ८१ केजीमा आर्मीका गणेश प्रधान र दाङका केशर खत्री सेमिफाइनलमा प्रवेश गरे । महिलाको ५१ केजी तौल समूहमा आर्मीकी ललिता महर्जनले काभ्रेकी सपना गुरुङलाई अंकका आधारमा हराउँदै फाइनलमा स्थान बनाइन् । छनोट लगत्तै खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी दिए ।

Logo