नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौंबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए ।
ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौँबाहिर पहिलोपल्ट पोखराबाट सेवा विस्तार गरिएको उनले बताए-“गुणस्तरीय सेवासहित हामी आएका छौँ, अब पोखरेलीले अनलाइनबाटै फुडमाण्डूका खानेकुरा अर्डर गर्न सक्नुहुनेछ ।” मालीका अनुसार फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको र यसलाई विस्तारै बढाउँदै लगिने छ । कम्पनीका संस्थापक मनोहर अधिकारीले आफूहरुले पहिलेदेखि नै पोखरामा सेवा विस्तार गर्ने योजना बनाए पनि कोभिड–१९ लगायत कारणले विस्तारमा ढिला भएको जानकारी दि ।
“हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा विस्तार गर्ने लक्ष्य लिएका थियौँ तर कोभिड–१९ का कारणले आफ्नो ध्यान अन्य प्रमुख विषयमा केन्द्रित भयो”, उनले भने । अधिकारीले सन् २०१० देखि शुरु गरिएको फुडमाण्डूको अनलाइन सेवाले ग्राहकको मन जित्दै गएकाले अब देशका अन्य स्थानबाट पनि सेवा दिने योजनानुरूप काठमाडौंबाहिर पोखराबाट शुरु गरिएको बताए ।
प्रतिक्रिया