नयाँ वर्षसँगै श्रीसदन सर्वसाधारणका लागि खुल्ने

नयाँ वर्षसँगै श्रीसदन सर्वसाधारणका लागि खुल्ने


काठमाडौँ ।

राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्षपछि उनले प्रयोग गरेको निजी घर श्रीसदन सर्वसाधारणका लागि खुला हुने भएको छ। नयाँ वर्षको दिन अर्थात् २०७७ साल वैशाख १ गते श्रीसदन खुला गर्न लागिएको हो।

श्रीसदनसँगै हिट्लरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेका राजपरिवारले चढ्ने बग्गी, दीपेन्द्र, श्रुति, निराजनले चढ्ने गाडीलगायतका सामग्री प्रदर्शनीमा राखिने भएको छ। संग्रहालयले बिग्रिएका अवस्थामा रहेको सबै सवारीसाधन मर्मत गरी तयारी अवस्थामा राखेको छ। सोही दिनबाट संग्रहालय प्रशासनले गणतन्त्र स्मारक परिसरको शहीदको सम्झानामा निर्मित संग्रहालयसमेत खुला गर्ने भएको छ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीसदन खोल्न सम्पूर्ण तयारी भइसकेको जानकारी दिए ।

‘बाटोको समस्या थियो, बम्बैचोक नजिकै नारायणहिटी संग्रहालयको दक्षिणतर्फका रत्न मञ्जिलसँगैबाट प्रवेश गर्ने व्यवस्था मिलाएका छौं। पहिलो चरणमा श्रीसदन, सवारीसाधन र गणतन्त्र स्मारकको संग्रहालय खुला गर्नेछौं । त्यसपछि प्रदर्शन गर्न बाँकी संरचना खुला गर्नेछौं।’ –दाहालले भने। संग्रहालय स्थापना भएको १२ वर्षपछि ती सामग्री प्रदर्शनीमा राख्न लागिएको हो।

नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा संग्रहालयलाई थप बिस्तार गर्न लागिएको हो। यसअघि विसं २०६९ मा श्रीसदन खुला गर्ने सबै तयारी भएको थियो। करिब ३० लाख रुपैयाँ खर्च गरी श्रीसदन व्यवस्थापन गरिएको थियो। प्रकृतिप्रेमी राजा वीरेन्द्रले आफू बस्ने भवन श्रीसदनलाई कहिल्यै रङरोगन गरेनन् । सिमेन्ट प्लास्टर मात्र गरिएको सो दरबार कलात्मक छ। कलात्मक प्रवेशद्वारमा ठूलो घण्ट राखिएको छ। तत्कालीन राजा महेन्द्रले छोरा वीरेन्द्रको निजी प्रयोगका लागि निर्माण गरिएको श्रीसदनमा वीरेन्द्र युवराजाधिराज घोषणा भएकै दिन प्रवेश गरेका थिए ।

करिब ७ सय ५४ रोपनी क्षेत्रफलमा रहेको नारायणहिटी दरबार परिसरभित्र ३ सय १८ रोपनीमा मात्रै संग्रहालय रहेको छ।
नेपाल समाचारपत्रबाट

Skip This
Logo