काठमाडौं उपत्यकामा तार भूमिगत बनाउन सुरु

काठमाडौं उपत्यकामा तार भूमिगत बनाउन सुरु


काठमाडौं – काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउने काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट तार भूमिगत गर्ने कामको सुरुवात गरेका हुन् ।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतको तार भूमिगत गरिनेछ ।  महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने ।  तारको कारण सहर कुरुप बन्दै गएको र जोखिम पनि बढेकाले तारलाई जमिन मुनी बिछ्याउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यी दुईवटा वितरण केन्द्रको तार ३२ महिनामा भूमिगत गरिसक्ने गरी भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरिएको छ । तार भूमिगत गर्दा सडक धेरै नखनिने र खनेको अवस्थामा १० दिनभित्र पहिलेकै जस्तो बनाइसक्नेगरी सडक विभाग र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Logo