चीनबाट ल्याइएका आशिष भन्छन्- “हामी भन्दा बढी सुरक्षाकर्मी र चिकित्सक डराए” (भिडियो)

चीनबाट ल्याइएका आशिष भन्छन्- “हामी भन्दा बढी सुरक्षाकर्मी र चिकित्सक डराए” (भिडियो)


चीनको हुवेइ प्रान्तबाट १ सय ७५ जना नेपाली उद्धार गरिएको छ । उनीहरुलाई विशेष सुरक्षा तयारीका साथ विमानस्थलमा खटिएका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणपछि उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवन रहेको स्थानमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा बसेका विद्यार्थीहरुले आफुहरु सबैजना स्वस्थ रहेको दावी गरेका छन् । क्वारेन्टाइनमा बसेका आशिष पौडेलले आफुहरु भन्दा बढी पव्लीक, सुरक्षाकर्मी र चिकित्सक डराएको महशुस गरेको बताए । उनले चीनको वुहानमा लकडाउन गर्नु दुइदिन अघिदेखि नै आफुहरुलाई वुहान विश्वविद्यालयले कोठाबाट बाहिर आउन निषेध गरेको र खाना समेत वुहान बाहेकका स्थानबाट आएका मात्र खुवाइएकाले आफुहरुमा कोरोना नभएको दावी गरेका छन् । उनले खरिपाटीमा सरकारले आफुहरुलाई राख्न गरिएको व्यवस्थापन र उद्धारको लागि सरकारलाई धन्यवाद दिएका छन् ।

खरिपाटी लगिएपछि आफुहरुको सिंगान परिक्षणको लागि लगिएको र मंगलवारसम्म रिपोर्ट आएपछि आफुहरु ढुक्क हुने केन्द्रविन्दुलाई बताए । उनीहरुका अभिभावकहरुले सरकारलाई धन्यवाद व्यक्त गर्दै कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम ल्याउन सुझाएका छन् ।

वुहानबाट नेपाल आउनको लागि १ सय ८५ जनाले फारम भरेका थिए । तर १ सय ७५ जना मात्र नेपाल फर्किएका छन् । ६ जना उच्च तापक्रमको कारण र ४ जना नेपाल आउन नखोजेपछि नल्याइएको हो । यसरी नेपाल फर्किनेहरुमा अधिकांश विद्यार्थीहरु रहेका छन् । २ जना पर्यटक भिषामा चीन पुगेका नेपाली र एक जना कामदारलाई पनि नेपाल फर्काइएको हो ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६६ पुगेको छ भने विश्वभर ६० हजार मानिसमा यसको संक्रमण देखिएको छ ।

Logo