नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम

नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम


काठमाडौं ।

सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक खण्डको स्तरोन्नतिको काम सुरु गरेको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम सुरु गरेको हो । करिब २२ सय मिटर लम्बाइमा कालोपत्रे थप्ने काम दुई सातासम्म हुनेछ । आगामी २० चैतसम्म काम सक्नेगरी ठेक्का सम्झौता भए पनि १० दिनमा कालोपत्रे थप्ने काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । त्यस अवधिसम्म सवारी आवत जावतमा समस्या पर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलिया लगायतले शनिबार त्यस क्षेत्रको अनुगमन गरेका छन् । सम्बन्धित निकायलाई जिम्मेवार र जवाफदेही बनाउन र केकस्तो काम भइरहेको छ भनेर अनुगमन गरिएको मन्त्री नेम्वाङले बताए । गत दसैंको समयमा स्वयं प्रधानमन्त्रीले यस बाटोको सन्दर्भमा निर्देशन दिनुपर्ने अवस्था आएकाले अहिले समयमा नै यस क्षेत्रमा काम थालिएको मन्त्री नेम्वाङले बताए ।

अनुगमनका क्रममा मन्त्री नेम्वाङले यातायात र यात्रु सबैलाई हेरेर ठीक ढंगले समयमा नै काम सम्पन्न गर्न निर्देशनसमेत दिए । मुख्य नाका भएको र सडक मर्मतका क्रममा केही असुविधा हुने भएपनि निर्माण समयवाधिसम्म धैर्य गरिदिन सबैसँग आग्रह गर्दै उनले जनतासँग प्रत्यक्ष जोडिएका विषयमा सरकारले जोड दिएको बताए । ‘ठूला आयोजना सम्पन्न गर्दै लैजाने र काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउने काममा लागेको छु, साना साना प्रत्यक्ष जनता र यात्रुसँग सम्बन्धित विषय पर्दछन् तिनलाई ध्यान दिने कुराको अभियान सुरु भएको छ,’ उनले भने ।

प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीले पहिलो चौमासिकमा मन्त्री र सचिवलाई सम्बोधन गर्ने क्रममा खाल्टाखुल्टी पुर्ने र कालोपत्रे गर्न दिएको निर्देशनअनुसार काम भइरहेको बताए । ‘काठमाडौंले हेर्ने ९५ वटा सडक, ललितपुरले हेर्ने ३८ वटा र भक्तपुरले हेर्ने १९ वटा सडकहरूमा तालिका बनाएर खाल्टाखुल्टी पुर्ने र स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ,’ उनले भने ।
राजधानीबाट

Skip This
Logo