फागुन ७ गते काभ्रेलाई ‘साक्षर’ जिल्ला घोषणा गरिने

फागुन ७ गते काभ्रेलाई ‘साक्षर’ जिल्ला घोषणा गरिने


काभ्रे ।

काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला घोषणा हुने भएको छ । जिल्लाका ६ नगरपालिका र सात गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । मण्डन देउपुर नपाले वि.सं. २०७५ पुस १३ गते ‘साक्षर नगर’ घोषणा गरेपछि स्थानीय तहले क्रमैसँग साक्षर घोषणा गरे अनुसार चौँरीदेउराली गाउँपालिकाले बिहीबार साक्षर पालिका घोषणा गरेको छ । यससँगै साक्षरता अभियान जिल्ला समन्वय समितिले फागुन ७ गते साक्षर जिल्ला घोषणाको तयारी गरिरहेको छ ।

समितिका संयोजक उद्वव केसीले फागुन ७ गते ‘साक्षर जिल्ला’ घोषणाको तयारी तीव्ररुपमा भइरहेको बताए । समितिका अनुसार जिल्लाका १५ देखि ६० उमेर समूहका ९६ दशमलव ४८ प्रतिशत जनसङ्ख्या साक्षर भएका हुन् । जसमध्ये एक लाख ९६ हजार १७४ पुरुष र एक लाख ७७ हजार ५५४ महिला साक्षर भएका हुन् । वि.सं २०६८ को जनगणना अनुसार जिल्लामा तीन लाख ७३ हजार ७२८ जनसङ्ख्या रहेको छ ।

जनगणना अनुसार तत्कालीन अवस्थामा दुई लाख ९२ हजार १७९ जनसङ्ख्या साक्षर भएकामा तत्पश्चातका वर्षमा निरक्षर जनसङ्ख्याका लागि सञ्चालन भएको सघन साक्षरता कार्यक्रमबाट आर्थिक वर्ष ०७६÷७७ सम्म तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको संयोजक केसीले जानकारी दिए । उनका अनुसार जिल्लाका १३ वटै स्थानीय तहले बाँकी रहेका तथा अभियानका क्रममा साक्षर हुन छुट निरक्षर जनसङ्ख्यालाई आगामी दिनमा साक्षर गराउने प्रतिबद्धतासहित साक्षर नगर÷गाउँपालिका घोषणा गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार जिल्लाको मण्डन देउपुर नपाका ९५ दशमलव २७, धुलिखेलका ९८ दशमलव ०७, बनेपा नपाका ९७ दशमलव ०७, पनौती नपाका ९५ दशमलव ०५, नमोबुद्ध नपाका ९६ दशमलव ४० र पाँचखाल नपाका ९८ दशमलव ९८ नागरिक साक्षर भएका छन् । यस्तै खानीखोला गाउँपालिकाका ९६ दशमलव ७१, तेमालका ९५ दशमलव ९७, भुम्लुका ९५ दशमलव ०५, बेथानचोकका ९५ दशमलव ८१, महाभारतका ९७ दशमलव ९८, रोशीका ९८ दशमलव ९८ र चौँरीदेउराली गाउँपालिकाका ९६ दशमलव ८३ जनसङ्ख्या साक्षर भएका हुन् ।

पन्ध्रदेखि ६० वर्ष उमेर समूहका जनसङ्ख्या ९५ प्रतिशतभन्दा माथि रहेको सन्दर्भमा साक्षर जिल्ला घोषण गर्न सकिने अन्तर्राष्ट्रिय मान्यता एवं नेपालको प्रचलित कानून बमोजिम जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । “जिल्लामा साक्षरता अभियानलाई निरन्तरता दिँदै जानेछौँ, यो अभियान पनि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा सफल भएको हो”, उनले भने । यसअघि मुलुकका ५१ जिल्ला साक्षर घोषणा गरिसकिएका छन् ।

विभिन्न दस्तावेजमा जनाइए अनुसार नेपालमा वि.सं. २००४ मा आधार शिक्षाको थालनीसँगै लेख्य साक्षरता शिक्षाको औपचारिक प्रारम्भ भएको थियो । वि.सं. २००८ पछि भने आम जनसङ्ख्यालाई साक्षर बनाउने अभियानको थालनीसँगै ‘नेपालमा शिक्षा प्रतिवेदन–२०११’ले प्रौढ साक्षरता कार्यक्रमलाई जोड दिन सिफारिस गरेपछि वि.सं २०१३ देखि योजनाबद्धरूपमा अघि बढाइएको हो । साक्षरता शिक्षालाई जीवनपद्धतिसँग आबद्ध गर्न वि.सं २०२२ देखि कार्यमूलक साक्षरतालाई समावेशपछि वि.सं २०२८ को राष्ट्रिय शिक्षा पद्धति योजनाको मध्यावधि मूल्याङ्कनपछि साक्षरता कार्यक्रमलाई अझ व्यापकता बनाइँदै ल्याइएको छ ।
रासस

Logo