माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धा प्रधानन्यायाधीशको इजलासमा

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धा प्रधानन्यायाधीशको इजलासमा


पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध दायर रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासमा पेशी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रित दायर गरेका थिए । रिटमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई प्रतिवादी बनाउनका लागि आदेश जारी गर्न मागदावी गरिएको छ । रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महान्यायाधीवक्ताको कार्यालय, विशेष अदालत, तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई विपक्षी बनाइएको छ ।

बालुवाटारको सरकारी जग्गालाई नक्कली मोही खडा गरी व्यक्तिका नाममा नामसारी गर्ने कार्य कुनै पनि हालतमा ‘नीतिगत निर्णय’ हुन नसक्ने दाबी गरिएको छ ।

कुनै पनि राजनीतिक दलले आफ्नो चुनावी घोषणा पत्रमा समावेश भएका प्रतिवद्धतालाई आफ्नो सरकार गठन भएपछि मन्त्रिपरिषदबाट निर्णय गराइ कार्यान्वयनमा ल्याउने काम मात्रै नीतिगत निर्णय हुने भनेर सर्वोच्च अदालतले नै फैसला सुनाएकोतर्फ पनि न्यौपानेले ध्यानाकर्षण गराएका छन् । न्यौपानेले सत्तारुढ दल नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतकै न्यायाधीश कुमार रेग्मीविरुद्ध पनि मुद्धा चलाउन माग गरेका छन् ।

ललिता निवासको जग्गा व्यक्तिका नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Logo