पूर्ण साक्षर अभियानमा लाग्न आवश्यक : शिक्षा मन्त्री

पूर्ण साक्षर अभियानमा लाग्न आवश्यक : शिक्षा मन्त्री


काभ्रे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अब स्थानीय सरकार पूर्ण साक्षर घोषणा गर्ने अभियानमा लाग्न आवश्यक रहेको बताएका छन्।

काभ्रेको कोशीपारीस्थित चौंरी देउराली गाउँपालिका–५ ढाँडखर्कमा आयोजित साक्षर गाउँपालिका घोषणा कार्यक्रममा मन्त्री पोख्रेलले मुलुक डिजिटल साक्षरतर्फ अगाडि बढिरहेको बेला अब गाउँ/नगरपालिका साक्षर मात्रै घोषणा गरेर समृद्ध नेपाल निर्माण नहुने बताए ।

गाउँपालिकालाई ९६ दशमलब ८३ प्रतिशत साक्षर भएको भन्दै उनले साक्षर गाउँपालिका घोषणा गरेका हुन् । सो क्रममा बाँकी रहेका ३ दशमलब १७ प्रतिशत नागरिकलाई खोजीखोजी साक्षर बनाउन गाउँपालिकालाई उनले आग्रह गरे । “बाँकी सूचकभित्र नपरेकालाई खोजी–खोजी साक्षर बनाउन अभियान सञ्चालन गर्न लाग्नुपर्छ”, मन्त्री पोख्रेलले भने,“साक्षरताको अभियानलाई जीवनपर्यन्त शिक्षासँग जोड्ने र शिक्षालाई सीपसँग जोड्ने कार्यमा निरन्तर लाग्न आवश्यक छ ।”

उनले अब तीन ऐन ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै सबै नेपालीहरुलाई सीप सिकाउनका लागि प्राविधिक र व्यावसायिक शिक्षा नीति ल्याउन लागिएको बताए।

सो क्रममा मन्त्री पोख्रेलले अहिलेसम्ममा ५१ जिल्लालाई साक्षर घोषणा गरिसकेको र नेपालको साक्षरता ८२ प्रतिशत पुगेको बताउँदै आउने वर्षसम्ममा नेपाललाई साक्षर घोषणा गर्दै शिक्षित नेपाल बनाउने दिशामा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए ।

उनले विद्यालय हाताभित्रका बालबालिका बाहिर नरहून् भन्नाका लागि घरधुरी सर्वेक्षण गरेर सो अभियानमा लाग्न आग्रह गरे । विद्यालय तहको कक्षा १२ सम्मको जिम्मा स्थानीय तहलाई दिइएकाले दृष्टिकोण बनाउँदै संरचना निर्माण गरी आयस्तर वृद्धि गर्ने काममा लाग्न आवश्यक रहेको मन्त्री पोख्रेलले बताए।
रासस

Logo