‘भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई निरुत्साहित नगरे राज्यको अपेक्षा पूरा हुँदैन’ : राष्ट्रपति

‘भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई निरुत्साहित नगरे राज्यको अपेक्षा पूरा हुँदैन’ : राष्ट्रपति


काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित नगरिकन राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न कठिन हुने बताएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएकाले ती पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्न जरुरी रहेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले समाजमा भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु भएको उल्लेख गर्दै नैतिकवान्, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोड दिइन् । उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र प्रविधिको शासन कायम गर्न सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहेको बताइन् । ‘‘सबैको साझा अठोट र प्रयासबाट मात्र भ्रष्टाचार निर्मूल गर्न सकिन्छ’’, उनले भनिन्, ‘‘भ्रष्टाचार नियन्त्रमा सरकारी, गैरसरकारी निजी क्षेत्र एवं सरोकारवाला सबैको सहयोग हुनु आवश्यक छ ।’’

राष्ट्रपति भण्डारीले राजनीतिक दल, कर्मचारी, गैरसरकारी र निजी क्षेत्र सबैलाई भ्रष्टाचार विरुद्धमा आफ्नो ठाउँबाट सार्थक प्रयास गर्न आग्रह गरिन् । उनले भ्रष्टाचारका कारण र असरबारे थप सचेतना बढाउनुपर्नेमा जोड दिएकी थिइन् ।

राज्यबाट प्रदान गर्ने सेवा सुविधा जनताले सरल र सहज रुपमा प्राप्त गर्न तथा सरकारी एवम सार्वजनिक सम्पत्ति संरक्षण र सदुपयोग गर्नमा आयोगले खेलेको भूमिका अझ सशक्त हुने अपेक्षा राख्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार गर्ने स्वरुप र शैली परितर्वन हुँदै गएकाले भौतिक साधन र सवल जनशक्तिद्वारा अगाडि बढ्न आयोग अग्रसर हुनुपर्ने बताइन् ।
रासस

Logo