अमेरिका ओमानसँग ९२ रनले पराजित

अमेरिका ओमानसँग ९२ रनले पराजित


काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज ओमानले अमेरिकालाई ९२ रनले पराजित गरेको छ । ओमानले अमेरिकालाई जितका लागि २७७ रनको लक्ष्य दिएको थियो ।

आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो । ओमानको उच्च योगफलमा कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतकीय इनिङ्स खेलेका थिए ।

जवाफमा अमेरिकाले ३९.१ ओभरको समाप्तीमा १८४ रन मात्र जोडेपछि ओमान ९२ रनले विजयी भएको हो ।

ओमानका लागि मक्सुदले १ सय ९ रनको शतकीय इनिङ्स खेले । १ सय ३ बलमा शतक बनाएका उनले १०९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । उनको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो । यस्तै अकिबले १ सय २३ बलमा १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । उनले यस अघि नेपालसँगको खेलमा पनि शतक बनाएका थिए ।

७ राष्ट्र सहभागी लिग–२ मा हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । शीर्ष ३ मा रहने राष्ट्रले सिधै सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् ।

यसअघिका खेलमा ओमानले ३ वटै खेल जितीसकेको छ । आजको जितसँगै ओमान शिर्षस्थानमा कायम रहेको छ ।

Logo