दिल्लीमा केजरीवालले सनसनी मच्चाउनुको खास कारण

दिल्लीमा केजरीवालले सनसनी मच्चाउनुको खास कारण


भारतको राजधानी नयाँ दिल्लीका जनताले फेरि एकपटक विकासको मुद्धालाई रुचाएका छन् ।

राष्ट्रवादका मुद्धा गम्भिर रुपमा उठाइरहेको भारतीय जनता पार्टी ‘भाजपा’ (सत्तासिन दल) ले फेरि राजधानी नयाँ दिल्लीमा क्षेत्रिय दल आम आद्मी पार्टी, ‘आप’ को हातबाट पराजय भोग्ने निश्चित भएको छ ।

विधानसभा निर्वाचनको प्रारम्भिक नतिजा सर्वाजनिक गर्दा ‘आप’ ७० सिटमध्ये ६० सिटमा अगाडि छ । भाजपाले बाँकी रहेको १० सिटमा अग्रस्थान कायम गरेको छ । आप सत्तामा आउनु भन्दाअघि १५ वर्ष दिल्लीमा एक क्षेत्र शासन गरेको कंग्रेस अघिल्लो विधानसभामा जस्तै यसपटक पनि एक सिट समेत नल्याउने अवस्थामा पुगेको छ ।

सन् २०१५ को विधानसभा निर्वाचनबाट दिल्लीको सत्तामा आपले राजनीतिक जरा गाड्न शुरु गरेको थियो । त्यसबेला आपले ७० मध्ये ६७ सिट जित्दै भारतीय राजनीतिमा सन्सनी मच्चाएको थियो । त्यही बेलादेखि हो, भारतीय मूलधारका सञ्चार माध्यमले अबको भारतको राजनीति नरेन्द्र मोदी र अरविन्द केजरीवालबीच घुम्ने प्रक्षेपण गरेका थिए ।

यसपटक पनि केजरीवालले मोदीलाई दिल्लीमा घुस्न दिएनन् । नतिजा पूरा नआउदै प्रमुख प्रतिपक्षी कंग्रेसले ‘दिल्लीमा आम आद्मीको जीत सत्तारुढ भाजपाको सांप्रदायिक एजेण्डाका विरुद्धको जीत’ भनि टिप्पणी गरेको छ ।

दिल्लीमा करिव एक करोड २० लाख मतदाता छन् । त्यसमध्ये करिव २० प्रतिशत मतदाता मुश्लिम छन् । नयाँ  नागरिकता विधेयकले केन्द्रीय सत्ताधारी भाजपासँग चिढिएका भारतका मुश्लिम समुदायको भावना निर्वाचनको मुखैमा ‘आप’ माथि हुनु स्वाभाविक हो ।

निर्वाचनअघि गैर मुश्लिम समुदायमाथि प्रभूत्व कायम गर्ने उद्धेश्यले भाजपाले दिल्लीमा आम आद्मीविरुद्ध मुश्लिम समुदायमाथि बढी सदाचारी बनिरहेको भनेर आरोप लगाउदै भाषण गरेको थियो । तर, आपविरुद्ध भाजपाका त्यस्ता कदमले यसपटक दिल्लीमा काम गरेन ।

निर्वाचनअघि भाजपाले भारतीय राजनीतिका केही विकाउ अनुहार अमित शाह, योगी आदित्यनाथलाई रामलीला मैदानमा नउतारेको होइन । तर, त्यही रामलीलामा केजरीवालले केही दिनपछि असली देशभक्त जनता आम आद्मीस“ग रहेको भनि गरेको भाषण अन्ततः चुनावी नतिजामा देखिएको छ ।

दिल्लीका जनताका लागि बितेको पाँच वर्षमा आम आद्मीले केही राम्रो काम गर्यो । बिजुलीको भाउ घटाउनेदेखि घर घरमा निशुल्क पानी दिने, शिक्षा शुल्क सस्तो बनाउने र महिला सुरक्षाजस्ता महत्वपूर्ण र जनस्तरको काम ‘आप’ले गरेको थियो ।

त्यो बाहेक राजनीतिकस्तरमा केजरीवालले मोदीले राष्ट्रियस्तरमा अघि सारेका सबै नीतिको विरोध मात्र गरेनन् देशका प्रधानमन्त्री सबै जातजातीको प्रधानमन्त्री बन्न नसकेको पटक–पटक आरोप लगाए । केन्द्र सरकारले ल्याएको नागरिकता संशोधन कानूनलगायतलाई आफ्नो प्रमुख चुनावी एजेण्डा पनि बनाए ।

भाजपाका दिल्ली अध्यक्ष मनोन तिवारीले निर्वाचनको मुखैमा आफ्नो पार्टीले दिल्लीमा ४८ सिट जित्ने हांस्यापद दावी गर्नु पनि भाजपाका लागि घाटा हुन पुग्यो ।

त्यसैले, यसपटक दिल्लीमा भाजपाको कमलको फूल फूलाउने योजनामा आम आद्मी पार्टी र अरविन्द केजरीवाल पुनः बाधक बने । दिल्ली विधानसभा निर्वाचनको नतिजाबाट पनि भारतीय नागरिक राष्ट्रियता मात्र नभई विकासका मुद्धामा पनि बहस होस् भन्ने चाहिरहेको प्रष्ट हुन्छ ।

Skip This
Logo