गृहमन्त्रीका भाइ नरेश थापालाई थुन्‍न उच्च अदालतको आदेश

गृहमन्त्रीका भाइ नरेश थापालाई थुन्‍न उच्च अदालतको आदेश


काठमाडौं ।

उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ ।

थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो ।

‘फिरौती’ उठाउने गिरोहसँगको मिलिभगतमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगसहित थापालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । काठमाडौं अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोज १ मा १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

थापासहितका ६ जनाले थुनामा रहेका विवादास्पद अभियुक्त समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीबाट रकम असुलेको अभियोग थियो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका एक अभियुक्त समीरमानसिंहले जेलबाटै चलाएको असुलीसँग जोडेर प्रहरीले पक्राउ गरेको थियो । गौचनको ०७४ असोज २३ मा नयाँ बानेश्वरको शान्तिनगर ठूलो खरिबोटनजिक दिउँसै हत्या भएको थियो ।
अन्नपूर्णबाट

Logo