हत्या आरोपमा प्रहरीसहित तीन जना पक्राउ

हत्या आरोपमा प्रहरीसहित तीन जना पक्राउ


ओखलढुङ्गा ।

ओखलढुङ्गामा व्यक्ति हत्याको आरोपमा एक प्रहरीसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–९ का ४१ वर्षीय पृथ्वीबहादुर बानियाँको हत्या गरेको आरोपमा स्थानीयवासी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीयवासी नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, नेपाली सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले छन् ।

स्वास्थ्य चौकी ज्यामिरेमा कार्यरत बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घर नजिक मृत फेला परेका थिए । तत्कालीन समयमा मदिरा सेवनका कारण बानियाँको ज्यान गएको भनिए पनि छ महिनापछि प्रहरीले हत्या आरोपमा तीन जनाविरुद्ध मुद्दा चलाएको छ ।

लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए। अदालतले दुई पटक म्याद थप गरिसकेको छ । सोमबार अदालतमा बयान सकिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै नेपाली सेना र प्रहरीमा कार्यरत चेतबहादुर र सन्तोष जागिरबाट निलम्बनमा परेका छन् । अदालतबाट सफाइ पाए जागिर जोडिने अन्यथा निलम्बन सदर हुने र कारवाही भोग्नुपर्ने कानूनी व्यवस्था छ ।

घटना भएको समयमा उनीहरु घर बिदामा गाउँमै आएका थिए । अत्यधिक मदिरा सेवनबाट बानियाँको मृत्यु भएको विषयमा आफूहरुलाई फसाइएको उनीहरुले बयान दिएको बताइएको छ ।
रासस

Logo