काभ्रेको धुलिखेल अस्पताललाई शव परीक्षण अनुमति

काभ्रेको धुलिखेल अस्पताललाई शव परीक्षण अनुमति


काभ्रे ।

धुलिखेल सामुदायिक अस्पतालले पनि शव परीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई माघ १ गते अनुमति दिएको जनाइएको छ । काभ्रेमा यस अघि शिर मेमोरियल अस्पतालले शव परीक्षण सेवा प्रदान गर्दै आएको छ ।

आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श ग¥यो । अस्पतालका डा राजकुमार कार्कीका अनुसार अस्पतालले सो सेवा सञ्चालन गर्न २०७१ सालबाट छलफल चलाएको थियो । यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्था भएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ । उनले भने, “पछिल्लो चरणमा बनेको मेडिको लिगल सेवा सञ्चालन निर्देशिका २०७५ अनुसार सेवा सञ्चालन गर्न लागेका हौँ । ”

मेडिको लिगल सेवाले कसुरको अनुसन्धान, अभियोजन वा न्यायिक कार्वाहीको सिलसिलामा कानूनी प्रयोजनका लागि गरिने चिकित्सकीय जाँच, परीक्षण वा सो सम्बन्धी कार्य जनाउने छ । साथै उमेर प्रमाणीकरण, कुटपिट, जबर्जस्ती करणी, मानसिक अवस्थाको परीक्षण, यातना, शव परीक्षण मृत्युको कारण र अन्य कुनै घटनाको सम्बन्धमा प्रचलित कानून बमोजिम गरिने चिकित्सकीय जाँच लगायत पर्दछ । सो सेवा प्रदान गर्न अस्पतालमा तीन विशेषज्ञहरु रहेको र चौबिसै घण्टा सेवा सञ्चालनमा रहने जनाइएको छ ।

अस्पतालका प्रशासक प्रद्युम्न श्रेष्ठले अस्पतालले वाग्मती प्रदेशका साथमा प्रदेश नं १ को सोलुखुम्ब, खोटाङ र ओखलढुङ्गा सेवा क्षेत्रभित्र रहनेगरी मान्यता पाएको जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पताल जस्तो अस्पताल देशका विभिन्न ठाउँमा सञ्चालन हुन आवश्यक रहेको बताए ।
रासस

Logo