बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्दै

बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्दै


काठमाडौं ।

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवर्धक कम्पनीलाई आशयपत्र (लेटर अफ इन्टेन्ट) प्रदान गरेको छ । प्रवर्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो ।

कम्पनीका आयोजना प्रमुख केके शर्माका अनुसार एलओआईसँगै विद्युत् खरिद सम्झौता गर्ने प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।

गत पुसको पहिलो साता बङ्गलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले जीएमआरसँग विद्युत् खरिद सम्झौताका लागि स्वीकृति दिएको थियो । एलओआई पाएपछि जीएमआरले बैङ्क जमानतस्वरूप ५० लाख डलर र खरिद सम्झौताका कागजात पेस गर्ने प्रक्रियामा लागेको शर्माले जानकारी दिए ।

खरिद सम्झौताको मस्यौदा बङ्गलादेशको कानुन मन्त्रालय र केन्द्रीय बैङ्कले स्वीकृति दिनुपर्ने हुन्छ । उक्त स्वीकृतिपछि विद्युत् खरिद सम्झौता हुनेछ । यसका लागि जीएमआरले थप एक करोड डलर जमानत देखाउनु पर्नेछ ।

आयोजना निर्माण कम्पनी जीएमआर अप्पर कर्णाली जलविद्युत् कम्पनीले अब आफ्नो ध्यान बङ्गलादेशसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने, आयोजनामा वित्तीय व्यवस्थापनको टुङ्गो लगाउने र निर्माणमा प्रवेश गर्नेमा केन्द्रित गरेको जनाएको छ । कुनै विशेष अवरोध नभए तीन महिनाभित्र खरिद सम्झौता हुने शर्माले बताए ।

नेपाल–बङ्गलादेश सीधा प्रसारण लाइन छैन । जीएमआरले माथिल्लो कर्णालीको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी (एएभीभीएन) मार्फत बङ्गलादेश पु¥याउन लागेको हो । यसर्थ अब पीपीए जीएमआर, एनभीभीएन र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ । प्रतियुनिट ७.७१२ सेन्टमा पीपीए हुने तय भइसकेको छ । एनभीभीएनले प्रतियुनिट ४ पैसा (भारु) ट्रेडिङ मार्जिन पाउने छ ।
गोरखापत्रबाट

Logo