पुरानै गतिले द्रुत विकासको जनचाहना पूरा हुन सक्दैन :अध्यक्ष तिमिल्सिना

पुरानै गतिले द्रुत विकासको जनचाहना पूरा हुन सक्दैन :अध्यक्ष तिमिल्सिना


कास्की ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको कार्यान्वयनपछि देशमा अलमलको अवस्था देखिएकाले गतिका साथ जनचाहना पूरा गर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वयात्मक समीक्षा गोष्ठीमा उनले सङ्घीय संसदमा जेठ १५ मा बजेट ल्याएर असारभित्रमा पास गरेपनि काम गर्ने तरिकामा सुधार नहुँदा आशातित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरे ।

उनले बजेट पास भएपछि सबै कार्यालयले एक डेढ महिनामा आवश्यक प्रक्रियामा लगेर योजना कार्यक्रमको बोलपत्र आह्वान गर्ने र अर्को डेढ महिना भित्रमा मूल्याङ्कन तथा सम्झौता गरिसक्नु पर्नेमा कतिपय योजना अझै पनि शुरु हुन नसकेकाले पुरानै गतिका साथ गए द्रुत गतिको विकासको जनचाहना पूरा हुन नसक्ने बताए ।

देश सङ्घीयताको नयाँ व्यवस्थामा गएपनि नयाँ सोच अनुसार जान नसकेको बताउँदै उनले कार्यालय व्यवस्थापन, बजेट तथा योजनामा सुधार हुन नसकेकामा चिन्ता व्यक्त गरे । योजना छनोट र सञ्चालनका विषयमा स्थानीय, प्रदेश र सङ्घ सरकारका बीचमा स्पष्ट परिभाषित हुनु आवश्यक रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले भने “कुन सरकारले कस्ता र कति सम्मका योजना सञ्चालन गर्ने भन्नेमा स्पष्ट हुनु जरुरी छ । त्यसो नहुँदा कतिपय योजनामा दोहोरोपना आउने, लक्ष्य अनुसारको काम नहुने र बजेट बढी खर्च हुने अवस्था छ ।”

कतिपय एउटै योजनामा तीनवटै सरकारको बजेट विनियोजन हुँदा एउटा योजनाको सम्पन्नता देखाएर दुई÷तीन वटा ठाउँबाट बजेट खर्च हुने खतरा रहेकाले त्यसतर्फ जनप्रतिनिधि हुनुपर्ने आवश्यकता उनले औँल्याए । स्थानीय सरकार तथा जनप्रतिनिधि उत्पादन वृद्धि गरी व्यापार घाटा कम गर्न, पूर्वाधार विकास, कृषि, औद्योगिक र ऊर्जा विकासका माध्यमबाट समृद्ध नेपाल निर्माणका प्रमुख आधार भएकाले त्यसतर्फ केन्द्रित हुन अध्यक्ष तिमिल्सिनाले आग्रह गरे ।
रासस

Logo