चिकित्सा शिक्षा आयोगको गेटमै अनशन बसेपछि पक्कै केही हुन्छ : विजय थापा (नेता नेवि संघ)

चिकित्सा शिक्षा आयोगको गेटमै अनशन बसेपछि पक्कै केही हुन्छ : विजय थापा (नेता नेवि संघ)


काठमाडौं ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीमाथि सत्यतथ्य छानबिन गरी निष्पक्ष रूपमा काबाही प्रक्रिया अगाडि बढाउनु पर्ने अभियानमा जुटेका छन् नेविसंघका नेता विजय थापा । उनले यस अभियानका लागि आमरण अनसन समेत सुरु गर्दैछन् छन् । विजयले किन सुरु गर्दैछन् अनसन ? केन्द्रबिन्दुका लागि संवाददाता सृजना राईले गरेको कुराकानी –

१. तपाईंको आमरण अनशन के का लागि ?

चिकित्सा शिक्षा आयोगको मापदण्ड मिचेर उपाध्यक्ष बनेका भ्रष्ट–अयोग्य श्रीकृष्ण गिरीमाथि सत्यतथ्य छानबिन गरी तत्काल बर्खास्त गर्नुपर्ने र विद्यार्थीमाथि आर्थिक शोषण गर्ने सम्पूर्ण निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरी तत्काल सरकारीकरण गरियोस् र चिकित्सा शिक्षा स्वच्छ होस् भन्नका लागि आमरण अनसन सुरु गरेको हुँ ।

२. श्रीकृष्ण गिरीलाई भ्रष्ट हो भन्नु भयो ? तर मुद्दा अनुसन्धानकै क्रममा छ नि ?

भ्रष्टाचारीलाई भ्रष्टचारी नै भनिन्छ । जब कि हामी तीन–तीन पटक ज्ञापनपत्र बुझाउन जाँदा पत्र बुझ्न नमान्ने । भेट्न जाँदा भित्र पस्न नदिने, भेट्न नमान्ने । भ्रष्टाचार गरेकै भएर अगाडि आउन नमान्ने मान्छेलाई म भ्रष्ट भन्छु । र यस्तो मान्छेलाई सामाजिक रुपमा बहिष्कार हुनैपर्छ । यदि भ्रष्ट भन्दा म अयोग्य ठहरिन्छु भने मलाई सजाय दिइयोस् म भोग्न तयार छु ।

३. तपाईंको माग व्यक्ति केन्द्रित देखियो, खासमा माग सरकारप्रति हो की व्यक्तिप्रति हो?

श्रीकृष्ण गिरी व्यक्ति मात्र होइनन्, समाजदेखि सरकारसम्म जोडिएका व्यक्ति हुन् । त्यसैले मेरो माग सरकारसँगै हो । श्रीकृष्ण गिरी जस्ता अयोग्य व्यक्तिहरू यस्तो पदमा हुनुहुदैन, सरकारले चाँडै छानबिन गर्नुपर्छ र कारबाही हुनुपर्छ भन्ने हो ।

४. यो अभियानमा कसरी जोडिन पुग्नु भयो ?
हाम्रो समाजमा आफ्नो लागेको खर्च जसरी हुन्छ, जुन तरिकाले हुन्छ उठाएरै छोड्ने प्रबृत्ति छ । यस्तै प्रबृत्ति मैले निजी मेडिकल कलेजहरूमा धेरै देखेँ । डा.गोबिन्द केसीको बारम्बारको मागलाई समर्थन गर्दै यस्ता ठग निजी मेडिकल कलेजहरू सरकारीकरण हुनुपर्छ भन्ने उद्देश्यले म यो अभियानमा आएको हुँ ।

५. के आमरण अनशन बसेर तपाईंको माग पूरा होला ?

मैले अपराध गरेको होईन, अयोग्य व्यक्तिलाई सामाजिक बहिष्कार गरौं भन्ने नाराका साथ शान्तिपूर्ण तवरले धर्ना र बिरोध कार्यक्रम गरेको हो । सत्यतथ्य छानबिन गरी कारबाही प्रक्रिया बढाउनु पर्छ भन्ने हो । चिकित्सा शिक्षा आयोगको गेटमै गएर आमरण अनशन बसेपछि पक्कै पनि केही हुन्छ ।

Logo