गिद्धले बच्चा कोरल्न नसक्ने समस्या

गिद्धले बच्चा कोरल्न नसक्ने समस्या


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखिएपछि अनुसन्धान थालिएको छ । माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारण खोजी गर्न शुरु गरिएको हो ।

प्रजनन केन्द्रका डा विकल्प कार्कीका अनुसार यस वर्ष १२ वटा गिद्धले फुल पारेका थिए । ती फुलमा गिद्ध ओथारो बसिरहेको छ । फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ तर आधाभन्दा बढीको समय नाघेको भए पनि बच्चा कोरलिएको छैन । त्यहाँ रहेका १९ जोडीमध्ये १५ वटा पोथीले फुल पार्नुपर्नेमा तीन वटाले फुल पारेका छैनन् ।

गत वर्ष पनि २० वटा फुलबाट जम्मा दुई वटा बच्चा कोरलिएको थियो । त्यसको अघिल्लो वर्ष विसं २०७४ मा २१ वटा फुलबाट सात वटा बच्चा कोरलिएको थियो भने विसं २०७३ मा १५ वटा फुलबाट नौ वटा बच्चा कोरलिएको थियो । त्यस वर्षलाई गिद्ध संरक्षणको राम्रो उपलब्धि मानिएको थियो ।

त्यसअघि विसं २०७१ मा पाँच वटा फुलबाट एउटा बच्चा कोरलिएको थियो भने विसं २०७२ मा सात वटा पुल पारे पनि बच्चा कोरल्न सकेको थिएन । डा कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुका कारण के हुन सक्छ भनेर विदेशी विज्ञसँगसमेत परामर्श गरी अनुसन्धान भइरहेको जानकारी दिए । निकुञ्जका निमित्त प्रमुख वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको हो कि भन्ने आशङ्का पैदा भएको भए पनि अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने बताए ।

यस वर्ष जाडोको मौसममा तापक्रम चार डिग्रीमा झरेको थियो । हाल प्रजनन केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन् । तीमध्ये दुई बच्चा, चार भाले र तीन पोथी नवलपरासीको जटायु रेस्टुराँमा प्रकृतिमा छाड्नका लागि लैजाने तयारी गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।

स्थापनाको समयमा करिब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन केन्द्रमा राखिएको थियो । त्यहीँ हुर्किएका गिद्धमध्ये हालसम्म ३३ वटालाई प्रकृतिमा छाडिएको छ । सन् २०१७ मा सात पोथी र सन् २०१८ मा आठ बच्चा, तीन पोथी एवं दुई भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको हो । सन् २०१९ मा छ बच्चा, चार पोथी र तीन भाले गरी १३ वटालाई प्रकृतिमा छाडिएको छ ।

Logo