पाँच वर्षभित्र हवाई पूर्वाधारको सुधारमा ३ खर्ब ३५ अर्ब लगानी हुने

पाँच वर्षभित्र हवाई पूर्वाधारको सुधारमा ३ खर्ब ३५ अर्ब लगानी हुने


  • सृजना राई
    काठमाडौं ।

देशभर अहिले ५४ वटा विमानस्थल निर्माण भएका छन् । त्यसमध्ये ३२ वटा संचालनमा रहेका छन् भने २२ वटा सञ्चालनबाहिर छन् । संचालनमा रहेका मध्येपनि धेरैजसो विमानस्थलका टर्मिनल भवन पुराना र धावनमार्गहरु कमजोर छन् ।

प्राधिकरणले आगामी ५ वर्ष भित्र सम्भव भएसम्म सबै विमानस्थलका पुराना टर्मीनल भवन विस्थापित गरिसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

प्राधिकरणले आगामी ५ वर्षभित्र हवाई पूर्वाधारमा मात्र ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्चिने भएको छ । जसमा जग्गा अधिग्रहण अन्तर्राष्ट्रियमा. ५ अर्ब, पूर्वाधार निर्माण अन्तर्राष्ट्रियमा २ सय अर्ब ५० पचास करोड, जग्गा अधिग्रहण आन्तरिकमा ३४.६ अर्ब, पूर्वाधार निर्माण आन्तरिकमा ४६ अर्ब खर्चिने भएको छ ।

यस्तै प्राधिकरणले पछिल्लो दुई वर्षमा हवाई पूर्वाधारमा मात्र ८९ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । त्यसमध्ये ठूलो रकम जग्गा अधिग्रहणमा खर्च भएको छ । प्राधिकरणका अनुसार जग्गा अधिग्रहण अन्तर्राष्ट्रियमा ३३ अर्ब, पूर्वाधार निर्माण अन्तराष्ट्रियमा ४९ अर्ब, जग्गा अधिग्रहण आन्तरिकमा १ अर्ब, पूर्वाधार निर्माण आन्तरिकमा ६ अर्ब लगानी गरिसकेको छ ।

आगामी ५ वर्षभित्र आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा रुपान्तरणका लागि खर्च हुने भएको छ । प्राधिकरणले यी चार वटा विमानस्थलको मास्टर प्लान बनाइसकेको छ । सोही अनुसार जग्गा अधिग्रहण गर्दै पूर्वाधार निर्माणको काम अगाडी बढाइने निर्देशक अधिकारीले जानकारी दिए । जग्गा अधिग्रहणका लागि भने आगामी ५ वर्षभित्र आन्तरिक विमानस्थलका लागि ३४ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

पछिल्लो दुई वर्षमा चार वटा विमानस्थलमा गरिएको लगानी :

विराटनगर विमानस्थल :
कुल लगानी ३० करोड
१६ परिवार अटाउने कर्मचारी हल, १ सय २६ विगाह जग्गा अधिग्रहण, ३ हजार मिटर धावनमार्ग विस्तार

नेपालगञ्ज विमानस्थल:
कुल लगानी ४५ करोड
६ वटा पार्किङ, २ सय मिटर धावनमार्ग विस्तार, टर्मिनल निर्माण
धनगढी विमानस्थल :
कुल लगानी ३० करोड
७ वटा पार्किङ, २ सय ४३ विगाह जग्गा अधिग्रहण
महेन्द्रनगर विमानस्थल:
कुल लगानी ५० करोड , १६ सय ९० मिटर धावनमार्ग विस्तार, १ सय बिघा जग्गा अधिग्रहण

आगामी ५ वर्षभित्र अन्तर्राष्ट्रिय हवाई पूर्वाधारतर्फ २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्ने योजना छ । त्यसमध्ये १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्नमा खर्च हुने छ । बाँकी रकम भने त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने प्रयोजनका लागि खर्च गर्ने योजना प्राधिकरणले बनाएको छ । अन्तर्राष्ट्रियतर्फ जग्गा अधिग्रहणमा ५ अर्ब रुपैयाँ खर्च हुने भएको छ ।

तराईका सबै विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ । सरकारले तराईका जिल्लामा रहेका क्षेत्रीय हव विमानस्थलमा कम्तिमा सानो क्षमताका एयरबस र बोइङ जहाज अवतरण गर्न सक्ने गरी विस्तारको योजना बनाएको छ । प्राधिकरणका अनुसार अब तराईका विमानस्थलहरुको धावनमार्गको मोटाई कम्तिमा ११ सेन्टिमिटर हुनेछ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ५ वर्षमै सञ्चालनमा आउने

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अबको पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । तर पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको उनको भनाई छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषय छलफलमा मन्त्री भट्टराईले स्रोत, साधन र जनशक्ति अभाव रहेको बताएका हुन् । भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि जनशक्ति र स्रोत, साधन मात्रै नभएर बजेट पनि न्यून रहेको उनले बताए ।

कोरोना भाइरसका कारण चीनबाट लक्ष्य अनुसार पर्यटक भित्र्याउन सम्भव नहुने भएकाले अन्य बैकल्पिक बजारको खोजी भएको बताएका छन् । चीनबाट यो वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भएपनि कोरोना भाइरसले पूर्ति हुने सम्भावना नरहेको र नीजि क्षेत्रहरुसँग छलफल गरी बैकल्पिक बजार खोज्न योजना बनिरहेको उनले बताए ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिले भन्दा धेरै सुधार आएको बताए । उनले तराई क्षेत्रमा रहेका राजविराज विमास्थलबाहेक अन्य विमानस्थलहरुमा रात्रिकालिन उडान सुरु भएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमास्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछिल्लो कार्यप्रगति राम्रो रहेको र अब वर्षेनी करोडौं पर्यटक आउने पनि बताए ।

Logo