विश्‍वप्रकाशको प्रश्‍न, कमरेडको सिरानीमुनी लालपुर्जा, गच्छदारलाई मुद्दा ?

विश्‍वप्रकाशको प्रश्‍न, कमरेडको सिरानीमुनी लालपुर्जा, गच्छदारलाई मुद्दा ?


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेसले आपत्ति जनाएको छ। बुधबार अख्तियारले गच्छदारसहित १७५ जनालाई भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका हुन्।

‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा, शर्माले ट्वीटमा लेखेका छन् ‘मुद्दा कसलाई ? विजय गच्छदारलाई।’

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले छानबिनको क्रममा डेढ सयभन्दा बढी व्यक्तिसँग बयान लिएको थियो।

अख्तियारले मुद्दा दायर गर्ने सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बस्न्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्त र दिनेश अधिकारी लगायतका उच्च अधिकारी र कर्मचारी रहेका छन्।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरिएको निश्कर्षसहितको छानबिन प्रतिवेदन एक सरकारी समितिले दिएपछि यसबारेमा थप अनुसन्धान गर्न सरकारले संवैधानिक आयोग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएको थियो।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा पञ्चायतकालमा जफत भएको भन्ने अर्थ लगाई सुवर्णशमशेरका सन्तानले २०४९ मा फिर्ता लगेका थिए। भूमाफियाको चलखेलमा २०६२, २०६७ र २०६९ सालमा गरी चार पटक ललिता निवासको जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता भएको थियो।
अन्नपूर्णबाट

Logo